बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
गम्भीर घाइते भएका थप ५ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएसँगै मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दियाे ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बझाङको बित्थडचीर गाउँपालिका– ७ का बिसनदत्त जोशी, सोही ठाउका २८ वर्षीय दिपकदत्त जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बैतडीको पुर्चौडी– ७ का १४ वर्षका सुशील जोशी र बझाङको केदारस्यूका २६ वर्षका केशवराज भट्टको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।
यसअघि बझाङको बित्थडचीर गाउँपालिका– ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय बिष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिक– ७ का ४० वर्षीय बसन्तराज रतला र बैतडीको पुर्चौडी नगरपालिका– ७ का ४० वर्षीया पुष्पा अवस्थीको मृत्यु भएको थियो ।
घाइते ३४ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रवक्ता बडूले बताए । उनका अनुसार गम्भीर अवस्थामा रहेका ५ जनाको धनगढी, २५ जनाको डडेल्धुरा अस्पताल र ४ जनाको बझाङको देउलेकमा उपचार भइरहेको छ । चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका– ७ को भौनीबाट जन्ती लिएर बझाङ फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बिहीबार राति पवनदुत यतायातको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको थियो ।