आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। सुदूरपश्चिमको महत्त्वपूर्ण निर्वाचन क्षेत्र कैलाली–४ पनि अहिले मुख्य राजनीतिक दलहरूका लागि प्रतिष्ठाको मैदान बनेको छ।
यस क्षेत्रमा विभिन्न दलका चर्चित अनुहारहरू चुनावी प्रतिस्पर्धामा छन्। नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट, तत्कालीन माओवादी प्रदेश का अध्यक्ष हाल नेकपाका उम्मेदवार हरिराम चौधरी ‘उत्सब’, नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर बिष्ट ‘आनन्द’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खेमराज कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कमल बम ‘रजबार’ तथा स्वतन्त्र उम्मेदवार छत्र भट्ट खत्री लगायत उम्मेदवार चुनावी दौडमा छन्।
पुराना सहयात्री, अहिले प्रतिस्पर्धी
लेखराज भट्ट लामो समयसम्म तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेता थिए। हरिराम चौधरी ‘उत्सब’ पनि भट्टसँगै माओवादी आन्दोलनमा सहकार्य गरेका नेता हुन्। अहिले भने उनीहरू फरक राजनीतिक धारबाट आमनेसामने चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
विगतको चुनावी इतिहास
२०६४ साल को पहिलो संविधानसभा निर्वाचनमा भट्टले तत्कालीन माओवादीबाट यही क्षेत्र जितेका थिए। २०७० साल को दोस्रो संविधानसभा निर्वाचनमा भने उनी माओवादीकै तर्फबाट उम्मेदवार बने पनि पराजित भए। २०७४ साल मा एमाले–माओवादी एकीकरणपछि बनेको नेकपाका उम्मेदवार भट्ट नै थिए र उनले निर्वाचन जितेका थिए। २०७९ साल को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस–माओवादी–समाजवादी गठबन्धनका उम्मेदवार वीरबहादुर बलायर विजयी भए भने एमालेबाट उम्मेदवार बनेका भट्ट पराजित भएका थिए।
हरिराम चौधरी पहिलोपटक प्रत्यक्ष चुनावमा
यसपटक माओवादी पृष्ठभूमिका हरिराम चौधरी ‘उत्सब’ उम्मेदवार बनेका छन्। उनी यसअघि राष्ट्रिय सभाका पूर्णकालीन सांसद भइसकेका छन्, तर जनताबाट प्रत्यक्ष निर्वाचित हुने चुनावमा भने पहिलोपटक मैदानमा उत्रिएका हुन्।उनको समर्थनमा तत्कालीन समाजवादी धार, भीमरावल नेतृत्वको मातृभूमि जागरण अभियान, र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी लगायत समूहहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) हो।
नेकपाको दाबी
नेकपा प्रचार समितिका संयोजक उदव भट्टराई का अनुसार अहिले क्षेत्रका वडास्तरमा निर्वाचन सम्पर्क कार्यालय स्थापना, जनसम्पर्क विस्तार र मतदातासँग प्रत्यक्ष भेटघाटको अभियान चलिरहेको छ।
उनले विशेषगरी युवापुस्तामा नेकपा प्रति भरोसा बढेको दाबी गर्दै उम्मेदवार पनि युवा भएकाले त्यसको लाभ हुने बताए। साथै, उम्मेदवार थारु समुदायबाट भएकाले यो क्षेत्र उल्लेख्य थारु मतदाता आधार पनि आफ्नो पक्षमा रहने उनको जिकिर छ।