कैलालीको गोदावरी नगरपालिका–४ बन्दगडामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मष्टाधाम मा शिला स्थापना गरिएको छ।
सोमबार आयोजित धार्मिक विधिअनुसार धाममा रहेका ३ मुख्यसहित १२ वटै धामहरूमा शिला राखिएको मष्टाधाम व्यवस्थापन समितिले जनाएको छ।
समितिका अध्यक्ष गणेश जिमि साउँद का अनुसार मष्टका मुख्य तीन धाम दुधे मष्टा, दाडे मष्टा र जलान्धरी मष्टा मा मष्ट देवताको शिला विधिपूर्वक स्थापना गरिएको हो। यसका अतिरिक्त धाम परिसरभित्र रहेका चार पञ्चाङ्गनमा कालिका, गणेश, विष्णु र लक्ष्मीका मूर्ति समेत स्थापना गरिएको उनले जानकारी दिए।
शिला स्थापना क्रममा भने एउटा अनौठो घटना देखिएको छ। अध्यक्ष साउँदका अनुसार दुधे मष्टा मन्दिरमा शिला राख्ने क्रममा अचानक सर्प देखिएको थियो। सामान्यतया सर्प देखिने समय नभए पनि मन्दिर परिसरमा सर्प देखिनुलाई स्थानीय भक्तजनहरूले देवताको चमत्कार को रूपमा व्याख्या गर्न थालेका छन्।अध्यक्ष साउँदले यसअघि नै यस्तो संकेत आएको दाबी गरे।
उनका अनुसार २०७५ सालमा मष्टाधाम स्थापना अघि धामीलाई हेराउँदा धामीले शिला स्थापना गर्ने बेला देवताले सर्पको रूप लिएर दर्शन दिने बताएका थिए। “आज शिला राख्ने क्रममा धामीले भनेजस्तै देवताले सर्पको रूपमा दर्शन दिनुभएको हो,” उनले भने।
सर्प देखिएको खबर फैलिनासाथ धाममा स्थानीय भक्तजनहरूको भिड लागेको थियो। उपस्थित भक्तजनहरूले उक्त दृश्यलाई आस्थाको रूपमा लिएर दर्शन गरेका थिए। केही समयपछि भने सर्प रहस्यमय रूपमा हराएको अध्यक्ष साउँदले बताए।
स्थानीयहरूले यस घटनालाई मष्ट देवताको उपस्थितिको संकेतका रूपमा लिँदै धामप्रति आस्था अझ बढेको बताएका छन्।