कैलाली क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) ले आफ्नो क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ। अत्तरिया स्थित धनगढी रोडमा स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टले गरेका हुन्।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उम्मेदवार भट्टले आफ्नो चुनावी एजेण्डा सार्वजनिक समेत गरे । उनले सो अबसरमा बोल्दै कैलाली–४ मा मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुने बताए। यद्यपि उनले अन्य प्रतिस्पर्धीलाई पनि कमजोर नठानेको उल्लेख गरे।
उनले आफ्नो जित केवल कैलाली–४ का लागि मात्र नभई समग्र सुदूरपश्चिमको विकाससँग जोडिएको दाबी गरे।भट्टले यसपटकको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा एमालेले १२ वटा सिट जित्ने दाबीसमेत गरे।
कार्यक्रममा समानुपातिक तर्फका प्रतिनिधि सभा का उम्मेदवार हरिशंकर योगी, राष्ट्रिय सभा सदस्य लिला भण्डारी, सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक लगायतको उपस्थिति रहेको थियो।
सम्पर्क कार्यालयमार्फत एमालेले क्षेत्रस्तरमा संगठन सुदृढ गर्दै चुनावी गतिविधि थप तीव्र बनाउने जनाएको छ। कार्यालयले मतदाता समन्वय, प्रचार–प्रसार तथा निर्वाचन परिचालन मा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यसैबीच एमालेका केन्द्रीय सदस्य सन्तोष शर्माको संयोजकत्वमा मुख्य निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ। समितिको उपसचिवमा भागिरथी बिष्ट र सचिवमा गणेश जिमि साउँद रहेका छन्।
कैलाली क्षेत्र नम्बर ४ मा एमालेले प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा लेखराज भट्टलाई अघि सारेको छ।