राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यतिबेला सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूको भ्रमणमा व्यस्त छन्। कैलाली र कञ्चनपुरका तराई क्षेत्रका निर्वाचन क्षेत्रहरूको भ्रमण सकेपछि उनी अहिले सडक मार्ग हुँदै डडेलधुरा, बैतडी, दार्चुला, बझाङ पुगिसकेका छन्।
उनको भ्रमण तालिकामा बाजुरा, अछाम र डोटी लगायतका जिल्लाहरू पनि समेटिएका छन्। यात्रा क्रममा उनले ठाउँ–ठाउँमा स्थानीयसँग भेटघाट गरिरहेका छन्। सार्वजनिक भएका दृश्यहरूमा उनी कहिले गाडीमा त कहिले मोटरसाइकलमा यात्रा गरिरहेको देखिन्छ।
यात्राको दौरान उनले हालसम्म कुनै पनि निर्वाचन क्षेत्रमा औपचारिक आमसभा सम्बोधन गरेका छैनन्। तर, केही स्थानमा पार्टीका सम्पर्क कार्यालय पुगेर प्रतीकात्मक रूपमा “घण्टी” बजाएको दृश्य भने बाहिरिएको छ।
यतिबेला सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा हिमपात भइरहेका बेला बालेनले हिमपातमै उभिएर सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेका छन्। उनले सुदूरपश्चिमकै स्थानीय भाकामा लेखेका शब्दले धेरैको ध्यान खिचेको छ: “सुदुर अब दुर नाई, झिक्कै झिक्कै माया तम्लाई।”
उनको उपस्थितिमा विभिन्न स्थानमा स्थानीयको भीड देखिएको छ। विशेषगरी युवाहरू र समर्थकहरू उनीसँग तस्बिर खिच्न र भेट्न उत्साहित देखिन्छन्।
औपचारिक कार्यक्रमभन्दा पनि प्रत्यक्ष जनभेटलाई प्राथमिकता दिएको उनको यो शैलीलाई धेरैले चासोका साथ हेरिरहेका छन्।
बालेनको यो भ्रमण आगामी फागुन २१ गतेको को प्रतिनिधि सभाको निर्बाचन लक्षित हो ।