फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरू मनोनयन गरेसँगै आ- आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन थालेका छन् । अहिले उम्मेदवारहरु अगुवा नेता कार्यकर्ताहरुसँग आपसी रणनीति बनाउनमा व्यस्त देखिन्छन् । कैलाली क्षेत्र नम्बर ४ मा पनि उम्मेदवारहरु मनोनयन गरेसँगै अहिले आन्तरिक रणनीतिमा जुटेका छन् ।
कैलाली क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) बाट लेखराज भट्टले उम्मेदवारी दर्ता गराएका छन् भने नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट हरिराम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् नेपाली कांग्रेसको तर्फबाट गोरखबहादुर बिष्ट "आनन्द" चुनावी मैदानमा होमिएका छन्। यो क्षेत्रमा मुख्यतया तीन दलबीच सधैँ प्रतिस्पर्धा हुँदै आएको थियो।
यस क्षेत्रमा २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवार लेखराज भट्टले ३१ हजार ३ सय ६९ मत ल्याएर विजय प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका उम्मेदवार सुनिल कुमार भण्डारीले २० हजार ९ सय ६० मत ल्याएका थिए। त्यसैगरी स्वतन्त्र उम्मेदवार गीता क्षेत्रीले ३ हजार १ सय ७३ मत ल्याएकी थिइन् भने जनमोर्चाका उम्मेदवार लक्षिराम आचार्यले ११ सय ०७ मत ल्याएका थिए।
यस्तै २०७९ को प्रतिनिधि सभा निर्वाचन मा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादीका संयुक्त उम्मेदवार वीरबहादुर बलायर विजयी भएका थिए। बलायरले २६ हजार २ सय ७५ मत ल्याएका थिए भने नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले २२ हजार ६ सय ६३ मत ल्याएर पराजित भएका थिए। उक्त निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ६ हजार २ सय ३३ मत ल्याएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २ हजार २ सय ३० मत ल्याएका थिए। त्यस्तै राप्रपाका उम्मेदवारले १४ सय ७० मत ल्याएका थिए।
यो पटकको निर्वाचनमा सबै दलहरूले आ - आफ्ना उम्मेदवारहरूलाई चुनावी मैदानमा उतारेका छन्। यस क्षेत्रमा १७ राजनीतिक दलका उम्मेदवारहरु र एक स्वतन्त्र गरी १८ जनाले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । यो पटकको निर्वाचनमा पनि मुख्यतया तीन दलबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ , यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पनि चुनावी मैदानमा छन्।
कांग्रेस उम्मेदवार हरेक निर्बाचनमा फेरबदल
कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काङ्ग्रेसका उम्मेदवारहरू हरेक वर्ष फेरबदल हुँदै आएका छन्। २०६४ र २०७० सालको संबिधान सभाको निर्बाचनमा कांग्रेसबाट दिर्घराज भाट उम्मेदवार बनेका थिए । ६४ मा उनी हारेका थिए भने दोस्रो संविधानसभाको निर्वाचन २०७० मा भाट निर्वाचित भएका थिए।
त्यसपछि भएको प्रतिनिधिसभा निर्वाचन २०७४ मा यस क्षेत्रमा सुनिल कुमार भण्डारी उम्मेदवार बनेका थिए यद्यपि उनी पराजित बनेका थिए त्यसपछि भएको अर्को प्रतिनिधि सभाको निर्वाचन २०७९ मा यस क्षेत्रबाट कांग्रेस नेता वीर बहादुर बलायर उम्मेदवार बनेका थिए र उनले निर्वाचन जितेका थिए ।
यसपटक २०८२ को प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रमा कांग्रेसका फेरि नयाँ उम्मेदवार चुनावी मैदानमा छन्। यो पटकको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट डोटी मूलघर भएका गोरखबहादुर बिष्ट "आनन्द" नयाँ उम्मेदवारको रुपमा चुनावी मैदानमा आएका छन्।
लेखराज भट्ट ५ औँ पटक उम्मेदवार
यस क्षेत्रबाट लेखराज भट्ट २०६४ यता ५ औँ पटक उम्मेदवार बनेका छन्। २०६४ सालको संविधानसभाको निर्वाचनमा उनी नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट निर्वाचित भएका थिए। त्यसपछि भएको २०७० अर्को संविधानसभाको निर्वाचनमा उनी पराजित बनेका थिए।
त्यसैगरी २०७४ सालको निर्वाचनमा उनी तत्कालिन नेकपाका उम्मेदवार बनेका थिए र उनी विजयी भएका थिए। त्यसैगरी २०७९ सालको निर्वाचनमा लेखराज भट्ट नेकपा (एमाले)बाट उम्मेदवार बनेका थिए र उनी पराजित बनेका थिए। अहिले २०८२ मा उनी नेकपा एमालेका तर्फबाट पुनः उम्मेदवार बनेका छन् ।