कैलाली क्षेत्र नं. ४ मा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १७ राजनीतिक दलका उम्मेदवार र १ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार अत्तरिया स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका उम्मेदवार तथा स्वतन्त्र व्यक्तिले उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाली कांग्रेसबाट गोरख बहादुर विष्ट (आनन्द) ले वारिसनामामार्फत उम्मेदवारी दर्ता गरेका छन्। नेकपा एमालेबाट लेखराज भट्ट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट हरिराम चौधरी तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट खेमराज कोइरालाले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बिहान हरिप्रसाद रेग्मीले उम्मेदवारी दर्ता गराए पनि साँझ पार्टी सभापति रवि लामिछानेको पत्रअनुसार खेमराज कोइरालालाई आधिकारिक उम्मेदवार घोषणा गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमल बम रजवार, नागरिक उन्मुक्ति पार्टीबाट धनबहादुर सुनार, राष्ट्रिय जनमोर्चा पार्टीबाट हेमराज भट्ट, माओवादी विप्लवबाट भक्तबहादुर शाही, मितेरी पार्टीबाट दिनेशकुमार मल्ल, नेपाल मजदुर किसान पार्टीबाट अमृता भुल, नेकपा संयुक्तबाट मोहनदेव मिश्र तथा नेशनल रिपब्लिक पार्टीबाट गोपीलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
स्वतन्त्र उम्मेदवारका रूपमा छत्रबहादुर भट्ट खत्रीले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते मतदान हुने छ भने त्यसअघि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन, चुनावी प्रचार–प्रसारलगायतका प्रक्रिया सञ्चालन हुने निर्वाचन कार्यालयले जनाएको छ।