सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १० वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार टुंग्याएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले अधिकांश क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो ।
रास्वपाले डडेल्धुराबाट डा. तारा जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जोशी २०७९ सालको निर्वाचनमा डडेल्धुरा १(१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । आफ्नो टिकट तय भइसकेको जानकारी दिँदै उनले आजै काठमाडौंबाट गृहजिल्ला फर्किरहेको बताए ।
डडेल्धुराबाट सागर ढकालको पनि चुनाव लड्ने इच्छा थियो । तर, जिल्लामा उनको राजनीतिक माहोल अनुकूल नदेखिएपछि उनी उम्मेदवारी दौडबाट पछि हटेका छन् ।
यस्तै, रास्वपाले बाजुराबाट हेमराज थापा, बझाङबाट शैलेश सिंह, कञ्चनपुर–१ बाट जनकसिंह धामी, २ बाट दीपक बोहरा र ३ बाट ज्ञानेन्द्र महतालाई उम्मेदवार बनाएको छ ।
कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा रास्वपाले उम्मेदवार टुंग्याएको छ । कैलाली–१ बाट कोमल ज्ञवाली,२ बाट केपी खनाल , ३ बाट लक्ष्मण थारु, ४ बाट हरि रेग्मी र ५ बाट आनन्द चन्द उम्मेदवार बन्ने भएका छन् ।
सुदूरपश्चिममा रास्वपाले उम्मेदवार टुंग्याएसँगै निर्वाचन माहोल थप रोचक बनेको छ ।