नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन उद्घाटन भइरहेका बेला भिडियो सन्देश जारी गर्दै पार्टीभित्र विधि, नीति र एकता कायम राख्न अन्तिम क्षणसम्म संघर्ष गर्ने बताएका छन्।
विशेष महाधिवेशनका विषयलाई लिएर कांग्रेसभित्र आन्तरिक ध्रुवीकरण तीव्र बनेका बेला आएको कोइरालाको सन्देशलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। उनले महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको ‘धरोहर’ भन्दै विधानको प्रभावकारी कार्यान्वयन र नीतिको सान्दर्भिकता स्थापित गर्न जिम्मेवारीपूर्वक भूमिका खेल्न आग्रह गरे।
कोइरालाले सन्देशमा भनेका छन्,
“आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरू, तपाईंहरू पार्टीको धरोहर हुनुहुन्छ। तपाईंहरू विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौं आउनुभएको छ। पार्टीको विधानको कार्यान्वयन गर्ने संकल्प गर्दै हुनुहुन्छ।”
पार्टीभित्र उत्पन्न विवाद र अन्योल समाधानका लागि आफू केही दिनदेखि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै उनले अन्तिमसम्म निकास खोजिरहने प्रतिबद्धता व्यक्त गरे।
“यो विषयमा समग्र कांग्रेसको हित र एकताबद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहासिक दायित्व निर्वाह गर्न तपाईंहरू सक्षम हुनुहुन्छ भन्ने मेरो गहिरो विश्वास छ। जबसम्म निकास निस्किँदैन, तबसम्म म निरन्तर लागिरहने छु,” कोइरालाले भने।
उनले कांग्रेस एकताबद्ध भएर मात्र अगाडि बढ्न सक्ने धारणा राख्दै ‘जय नेपाल’को नारामा सबैलाई गोलबन्द हुन आह्वान गरे।
“मेरो दृढ विश्वास छ, एकताबद्ध भएर मात्र अगाडि बढ्न सकिन्छ, र त्यो ‘जय नेपाल’को गुञ्जनबाट सम्भव छ,” उनले सन्देशमा उल्लेख गरेका छन्।
विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र संस्थागत निर्णय, विधान र नेतृत्वको भूमिकामाथि तीव्र बहस चलिरहेका बेला कोइरालाको यो सन्देशले कांग्रेसभित्र एकता र विधिको राजनीतिलाई पुनः केन्द्रमा ल्याउने प्रयासका रूपमा हेरिएको छ।