तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्य रञ्जिता श्रेष्ठले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ लाई लक्षित गर्दै भइरहेको आरोप–प्रत्यारोप र राजनीतिक आक्रमणप्रति कडा प्रतिक्रिया दिएकी छन्।
उनले कैलाली–१ लाई स्वार्थ, षड्यन्त्र र सस्तो आरोपको अखडा नबनाउन चेतावनी दिएकी छन्। श्रेष्ठले सामाजिक संजाल फेसबुकमा एक लामो स्ट्याटस पोष्ट गर्दै उनले आफ्नो प्रतिक्रिया दिएकी हुन् ।श्रेष्ठले २०७९ सालको निर्वाचनपछि जनप्रतिनिधि बनेपछि आफूले गरेका कामको मूल्याङ्कन हल्ला होइन, तथ्य र इतिहासका आधारमा गर्न आग्रह गरिन्।
उनले राजबन्दी रिहाइ कुनै संयोग वा व्यक्तिगत सौदा नभई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक इच्छाशक्ति र आफू मन्त्री हुँदा गरिएको पहलको परिणाम भएको स्पष्ट पारिन्।
उनले थारू समुदायमाथि विगतमा गरिएको अन्यायको स्मरण गर्दै भनेकी छन्, “हिजो थारूलाई हत्यारा बनाउने अभियान चलाउनेहरू नै आज नयाँ आरोप लिएर देखापरेका छन्, तर इतिहास मेटिँदैन।”
रञ्जिता श्रेष्ठले आफू र रेशम चौधरीबीचको सम्बन्धलाई ‘श्रीमान–श्रीमतीको झगडा’ भनेर चित्रण गरिँदै आएकोप्रति पनि कडा आपत्ति जनाइन्। उनले यदि व्यक्तिगत झगडा हुन्थ्यो भने अंश, बहुविवाह वा पारिवारिक मुद्दा हुने थियो, तर त्यस्तो कुनै पनि मुद्दा नभएकाले यो राजनीतिक असहमति मात्र भएको बताइन्।
उनले आफू पद वा कुर्सीको लोभमा राजनीति नगरेको भन्दै टीकापुर घटनामा रेशम चौधरीमाथि लगाइएको आरोप र त्यसले परिवारलाई भोग्नुपरेको पीडाले आफूलाई राजनीतिमा ल्याएको बताइन्। “म कुर्सीका लागि होइन, न्यायका लागि राजनीतिमा आएको हुँ,” उनले भनिन्।
श्रेष्ठले नारी नेतृत्वमाथि भइरहेको चरित्रहत्या र झुटा आरोपलाई नारीमाथिको योजनाबद्ध राजनीतिक आक्रमण को संज्ञा दिँदै अन्ततः समयले नै सत्यको फैसला गर्ने विश्वास व्यक्त गरिन्।
अन्त्यमा उनले थारू मुद्दा र वैवाहिक सम्बन्धलाई हतियार बनाएर सस्तो राजनीति नगर्न सबैलाई चेतावनी दिएकी छन्।