सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाको नेतृत्वमा रहेको मन्त्रीस्तरीय टोलीले बुधबार कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी भन्सार नाकाको स्थलगत निरीक्षण गरेको छ।
सीमा नाकामा भारतीय पर्यटक तथा नेपाली नागरिकको आवागमन सहज बनाउने उद्देश्यले एकीकृत भन्सार जाँच प्रणालीलाई व्यवस्थित गर्न प्रदेश सरकार सक्रिय रहेको मन्त्री थापाले जानकारी दिए ।
उनका अनुसार रोजगारीका लागि भारत जाने नेपाली श्रमिकहरूको तथ्याङ्क सङ्कलन तथा नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूको विवरण व्यवस्थित रूपमा राख्न भन्सार नाकाको सुधार योजना अघि बढाइएको हो।
अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री थापाले दुवै देशका नागरिकलाई सहज सेवा प्रदान गर्न आगमन प्रक्रियालाई सरल बनाइने बताए।
साथै, सामान जाँचका लागि आधुनिक स्क्यानिङ मेसिन जडानको तयारी भइरहेको जानकारी दिँदै यसले सीमा क्षेत्रमा हुने अनावश्यक झन्झट कम गरी आवागमन थप सहज बनाउने विश्वास व्यक्त गरे।
उनले भन्सार नाकाको सुधारले सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रण तथा लागू औषध ओसारपसार रोकथाममा पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उल्लेख गरे।
अनुगमन टोलीमा आर्थिक मामिला मन्त्री थापासँगै भौतिक पूर्वाधार तथा विकास मन्त्री सुरेन्द्रबहादुर पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको सहभागिता रहेको थियो।
टोलीले दुवै सीमा नाकाको वर्तमान अवस्था, सेवा प्रवाह र सुधारका सम्भावनाबारे स्थलगत अवलोकन गरेको हो।