नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापाले आफू सभापतिको उम्मेदवार रहने र सभापति बन्ने दाबी गरेका हुन्।
महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिँदै उनले अब पार्टीलाई नयाँ बनाउने समय आएको बताएका छन्।
नेतृत्व परिवर्तन मात्र नभई पार्टीमा संरचनागत र वैचारिक नयाँपन ल्याउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।
‘पार्टी सभापतिलाई समयमै महाधिवेशन गर्नुपर्छ भनेर हामी स्पष्ट रूपमा भनिरहेका छौं। महाधिवेशन निर्वाचनअघि नै हुनुपर्छ,’ थापाले भने, ‘१५ औँ महाधिवेशनबाट म कांग्रेस सभापति बन्छु र बन्न चाहन्छु।’
तोकिएको समयमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको विकल्प अघि बढ्ने पनि उनले स्पष्ट पारे। उनका अनुसार देशभरका प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरेर विशेष महाधिवेशन गराउने प्रक्रिया अघि बढाइनेछ।
‘देशभरिका साथीहरूले विशेष महाधिवेशन हुनुपर्छ भनेर आह्वान गरिसक्नु भएको छ,’ थापाले भने, ‘यदि महाधिवेशन अवरुद्ध गर्ने प्रयास भयो भने केही दिनमै देशभरिका साथीहरू आएर विशेष महाधिवेशन गराउने अवस्था बन्छ। विशेष महाधिवेशनले भए पनि एउटा परिणाम निकाल्छ, यसको विकल्प छैन।’
कांग्रेस आफू अलमलिन सक्ने तर जनतालाई अलमल्याउन नसक्ने उनको भनाइ छ।