सुदूरपश्चिमको सांस्कृतिक, आर्थिक र औद्योगिक विकासलाई उद्देश्य बनाएर धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको १९औं संस्करण सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। महोत्सवको उद्घाटन संघीय अर्थमन्त्री रामेश्वर खनालले गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले वर्तमान सरकार सुदूरपश्चिममा रहेको विकासका सम्भावनालाई मूर्त रूप दिन प्रतिबद्ध रहेको बताए।
उनीले भने, "हाम्रो मुख्य काम सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नु हो। तर त्यससँगै सम्भव हुने विकास–निर्माणका काम पनि अघि बढाउन सरकार गम्भीर छ।"
मन्त्री खनालले प्रदेशका प्रमुख परियोजनालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै—दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन,दोधारा–चाँदनी सुख्खा बन्दरगाह निर्माण,रणनीतिक सडक तथा क्षेत्रीय पूर्वाधार विकास जस्ता योजनामा सरकार सक्रिय रहेको बताए।
२०६३ सालदेखि निरन्तर महोत्सव
कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म महोत्सव गर्दै आएको छ।
संघका अध्यक्ष पुष्करराज ओझाका अनुसार महोत्सवले प्रदेशको—पर्यटन,कृषि,उद्योग, व्यापार विस्तारमा महत्वपूर्ण योगदान गर्दै आएको छ।
ओझाले २१ बुँदे मागपत्रसहित सुरु भएको महोत्सवको धेरै माग पूरा भए पनि कतिपय माग अझै अधुरै रहेको बताए।
“सालिन आन्दोलनको निरन्तरता” — गोपाल हमाल
महोत्सवका संस्थापक तथा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले २०६३ सालमा महोत्सवलाई सालिन आन्दोलन का रूपमा सुरु गरिएको बताए।
उनका अनुसार, “सुदूरपश्चिमको कला, संस्कृति, उत्पादन र मागलाई एउटै मञ्चमा राखेर प्रदेशको पहिचान बलियो बनाइएको हो।”
आर्थिक प्रभाव र दर्शक संख्या
यो वर्षको महोत्सवमा—
३ करोड रुपैयाँ खर्च हुने,
१५ करोड बराबरको कारोबार हुने,
७ लाखभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ।
टिकट दरः
विद्यार्थी/खेलाडी – रु ५०
सर्वसाधारण – रु १००
जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिलाई – निःशुल्क प्रवेश