सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
नेपाल सरकार गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले संघीय सरकारसँग सहकार्य र समन्वयमा प्रदेश सरकार सधैं तत्पर रहेको बताए ।
उनले नेपाल प्रहरीलाई साधन–स्रोत सम्पन्न र मनोबल उच्च बनाउने विषय प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सुरक्षा निकायलाई अझ सक्षम र प्रभावकारी बनाउनेतर्फ गम्भीरतापूर्वक लाग्नुपर्ने धारणा राखे ।
भाद्र २३ र २४ गतेका आन्दोलनबारे बोल्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रदेश सरकार कटिबद्ध रहेको पुनः दोहर्याए । भ्रष्टाचारविरुद्ध ल्याइएका कानुनका कारण सोही दलका व्यक्तिहरूलाई पनि कस्टडी बस्नुपरेको उदाहरण दिँदै, भ्रष्टाचार हुने क्षेत्र पहिचान गरी कडाइका साथ सुधार प्रक्रिया अघि बढाउनुपर्नेमा उहाँले जोड दिए ।
यस्तै, उनले २०४६ र २०६३ पछि मुलुकमा धेरै सकारात्मक परिवर्तन भएको उल्लेख गर्दै केवल नकारात्मक पक्ष मात्र टिप्पणी गर्नु अनुचित रहने टिप्पणी गर्दै उपलब्धिपूर्ण कामहरूको मूल्याङ्कन गर्न सबै सरोकारवालालाई आग्रह पनि गरे ।
मुख्यमन्त्री शाहका अनुसार, मुलुकलाई चुनावी माहोलमा लैजादै गर्दा जनताको इच्छा, आकांक्षा र विश्वासलाई केन्द्रमा राखेर अघि बढ्न आवश्यक छ।