नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले अत्यन्तै संवेदनशील राजनीतिक मोडमा पुगेको बताएका छन्।
धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहत् एकता अब अपरिहार्य भइसकेको स्पष्ट गरे।
प्रचण्डका अनुसार आगामी निर्वाचन देशको निकास र स्थिरताको मुख्य मार्ग हो। उनले सबै पक्षलाई गम्भीरतापूर्वक चुनावी प्रक्रियामा जुट्न अपिल गरे।
सुदूरपश्चिमसँग ‘भावनात्मक र राजनीतिक’ सम्बन्ध
सभामा उनले सुदूरपश्चिम प्रदेशसँग आफूले विशेष भावनात्मक नाता राखेको बताएका छन्।उनका अनुसार गणतन्त्र स्थापना पछि सबैभन्दा धेरै संवाद, भ्रमण र विकासको पहल यही प्रदेशमै केन्द्रित गरिएको थियो।
‘जनयुद्ध र जनआन्दोलनमा सुदूरपश्चिमले अपार बलिदान दिएको छ, त्यसको कदर गर्दै यो क्षेत्र निरन्तर प्राथमिकतामा रह्यो,’ प्रचण्डले भने।
१५ घटकहरूको एकता
नेपाली कम्युनिष्ट पार्टी १५ वटा कम्युनिस्ट घटकहरूको ऐतिहासिक एकताको परिणाम भएको बताउँदै प्रचण्डले यसले देशभर नयाँ राजनीतिक ऊर्जा पैदा गरेको दाबी गरे।
एमालेभित्रका देशभक्त तथा क्रान्तिकारी कार्यकर्तालाई पनि पार्टीमा एकताबद्ध हुन उनले खुला आह्वान गरे।
यस्तै उनले जे–नजी आन्दोलनका २३ र २४ गतेका घटनालाई उनले ‘नरसंहारस्तरको घटना’ भने। युवाहरूका माग जायज रहेको दोहोर्याउँदै सरकारको बल प्रयोग गलत निर्णय भएको उनले टिप्पणी गरे।
‘हामीले आफ्नै छोराछोरीलाई इतिहास, राष्ट्र र समाजबारे सिकाउन सकेनौँ, उनीहरू इन्टरनेट र एआईको नयाँ संसारमा पुगे,’ उनले भने।
देश केही महिना अघिको राजनीतिक संकटलाई अत्यन्त गम्भीर मोडको रूपमा स्मरण गर्दै प्रचण्डले भने—‘२६ गते राति गणतन्त्रै खारेज हुनसक्ने अवस्था आएको थियो। त्यो क्षणमा संविधान जोगाउन हामी सक्रिय भयौँ।’त्यस्तो संकट पुनः नदोहोरियोस् भनेर वाम–देशभक्तहरूको ठूलो एकता आवश्यक भएको उनको भनाइ थियो।
ओलीतर्फ इंगित गर्दै प्रहार
धनगढी सभामा प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलि माथी तुलनात्मक नरम देखिए । यद्यपि ओलीलाई अहंकारी र दम्भी भने ।
आगामी निर्वाचन नै स्थिरता दिने मार्ग भएको स्पष्ट गर्दै प्रचण्डले संसद् विघटनमा संलग्नहरूले अहिले पुनः स्थापनाका कुरा उठाउनु ‘बेमौसमको बतास’ भएको टिप्पणी गरे।