नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) कैलालीका अध्यक्ष, सचिव, उपसचिवसहित जिल्ला कमिटीका ठूलो समूहले प्रचण्ड–माधव नेतृत्वमा गठित ‘नेपाली कम्युनिस्ट पार्टी’मा सामेल नहुने निर्णय गरेका छन्।
एकीकृत समाजवादीको १२१ सदस्यीय जिल्ला कमिटीमध्ये ९१ सदस्यले नयाँ पार्टीमा जाने प्रस्ताव अस्वीकार गरेको सचिव दीर्घ जोशीले जानकारी दिए।
“हामी एमालेमा पनि जाँदैनौँ, र प्रचण्ड–ओली रहेको पार्टीमा पनि सामेल हुँदैनौँ,” सचिव जोशीले भने।अध्यक्ष विमल जोशी, सचिव दीर्घ जोशी र उपसचिव प्रेमलाल चौधरीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै माओवादी, एकीकृत समाजवादीलगायत दर्जनभन्दा बढी दलबीच भएको भनिएको एकता कम्युनिस्ट सिद्धान्तविपरीत रहेको आरोप लगाएका छन्।
विज्ञप्तिमा भनिएको छ– “अहिले १० हुँदै १३ दलको हवाला दिइन्छ। तर कुनै पनि पार्टी शुद्ध रूपमा सहभागी छैनन्। आधारभूत संगठन नभएका दललाई मिलाएर गरिएको यस्तो एकताले कम्युनिस्ट आन्दोलनलाई क्षति पुर्याउँछ।”
विज्ञप्तिमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि कम्युनिस्ट आन्दोलनलाई ‘विसर्जन’तर्फ लैजाने भूमिका खेलेको आरोप लगाइएको छ।अध्यक्ष जोशीका अनुसार जिल्ला कमिटीले कम्युनिस्टविरोधी एकतामा सहभागी नहुने भन्दै पार्टी पुनर्गठनतर्फ लाग्न सबै सदस्यलाई आह्वान गरेको छ।
भोलि धनगढीमा एकता सभा
नेपाली कम्युनिस्ट पार्टीको धनगढीमा भोलि एकता सभा हुँदै छ। सभालाई सम्बोधन गर्न संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल उपस्थित हुने कार्यक्रम छ।
यही सभाको पूर्वसन्ध्यामा कैलाली समाजवादीले नै सामूहिक रूपमा एकतामा सामेल नहुने घोषणा गरेको हो।