सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सेती लोकमार्ग निर्माणलाई प्रदेश सरकारको प्रमुख एजेन्डा बनाएको स्पष्ट पार्नुभएको छ।
बिहीवार बझाङमा पालिका प्रमुखहरू, संघ, प्रदेश तथा स्थानीय कार्यालय प्रमुख र सुरक्षा निकायका प्रतिनिधिसँग भएको छलफलमा मुख्यमन्त्री शाहले आफ्नो निरन्तर पहलको जानकारी दिनुभयो।
मुख्यमन्त्री शाहले भन्नुभयो, “नेपाल सरकारका वैदेशिक भ्रमणहरूमा पनि सुदूरपश्चिमको एजेन्डाका रूपमा सेती लोकमार्गलाई उठाउँदै आएको छु। निर्माण प्रक्रियालाई अघि बढाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर समन्वय भइरहेको छ।” उहाँले यस लोकमार्ग प्रदेशको विकास र समृद्धिको मेरुदण्ड हुने बताउनुभयो।
कैलाली, डोटी, अछाम, बझाङ हुँदै बाजुरासम्म जोडिने उत्तर–दक्षिण लोकमार्ग रणनीतिक, धार्मिक र पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको मुख्यमन्त्रीले उल्लेख गर्नुभयो। उहाँले नेपाल सरकारको प्राथमिकता परियोजना भएकाले द्रुतगतिमा निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।
मुख्यमन्त्री शाहले निर्माणाधीन पार्टी कार्यालय भवन, बाल मन्दिर आधारभूत विद्यालय र उर्केन सांगे छ्योलिङ गुम्बा पनि निरीक्षण गर्नुभएको थियो।
साथै, उहाँले बझाङ जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्थाबारे प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित तीनै सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिनुभएको छ।