जेन–जी अगुवा रक्षा बमले विध्वंस र नरसंहार धेरै भोगिसकेको भन्दै संयमता देखाउन अपिल गरेकी छन् । सामाजिक सञ्जालमा बिहीबार एक
पोष्ट लेख्दै बमले अब एक थोपा रगत पनि मुलुकले थेग्न नसक्ने भन्दै संयमताको अपिल गरेकी हुन् ।
‘साथीहरू, संयमित हुनुहोला । हामीले धेरै विध्वंस देखिसक्यौँ, नरसंहार भोगिसक्यौँ । अब यो देशले कसैको पनि एक थोपा रगत थेग्न सक्दैन,’ उनले लेखेकी छन्, ‘हामी देशको वर्तमान र भविष्य बोकेका युवा हौँ । अहिलेको समयमा संयमता र धैर्यता नै हाम्रो शक्ति हो र हुनुपर्छ ।’
भदौ २३ गतेले न्याय पाउनुपर्नेमा दईमत नभएको भन्दै उनले शान्ति कायम राख्नु सबैको जिम्मेवारी भएको उल्लेख गरेकी छन् । ‘भदौ २३ ले न्याय पाउनुपर्छ भन्ने विषयमा दुईमत छैन । यसका लागि हाम्रो आवाज सधैँ एक छ तर साथीहरू विद्रोहपछि विवेक महत्त्वपूर्ण हुन्छ है,’ उनले लेखेकी छन्, ‘हिजो सुशासनका निम्ती हामीले सडकमा आवाज उठायौँ र आज देशमा शान्ति कायम राख्नु हाम्रो पनि जिम्मेवारी हो ।’
दलका नेतालाई पनि उनले अपिल गर्दै भनेकी छन्, ‘राजनैतिक दलका अग्रज नेताज्यूहरू र युवाहरूले पनि बुझून् – यसबेला, नेपाल आमा शान्ति चाहन्छिन् ।’
जेन–जी र एमालेका युवाबीच बाराको सिमरामा लगातार दोस्रो दिन पनि झडपको स्थिति आएपछि उनले सामाजिक सञ्जालमार्फत् यस्तो अपिल गरेकी हुन् ।