नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले आगामी महाधिवेशनले केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बनाउनेमा कुनै शंका नरहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल, कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका अधिकारीले ओली नै सर्वसम्मत अध्यक्ष बन्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार, सर्वसम्मत सहमति नभए पनि पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा हुने र त्यसले एमालेलाई कुनै नोक्सानी नपुग्ने बताउँदै उनले भने, “२०३६ सालदेखि अहिलेसम्म म एमालेको पूर्णकालीन कार्यकर्ता हो । मेरो अनुभवले भन्छ, नेकपा एमालेले वर्तमान नेतृत्वलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउँछ । त्यस्तो नभए पनि हामी स्वस्थ प्रतिस्पर्धामै हुन्छौं, जसले पार्टीलाई नोक्सान पुर्याउँदैन।”
अधिकारीले असंवैधानिक बाटोबाट बनेको अहिलेको सरकारले जनताको जनादेश लिन नचाहेको आरोप लगाए । उनका अनुसार, ठूलो मात्रामा नेपाल प्रहरीका हातहतियार र पोशाक लुटिएको अवस्थामा सरकारको दायित्व सुरक्षा सुनिश्चित गर्नु हो, तर त्यसतर्फ ध्यान नदिइएको उल्लेख गरे ।
उनले भने, “अहिलको अवस्थामा पनि नेकपा एमाले डराएर होइन, बाध्य भएर सडकमा आएको हो ।”
नेता भीम रावलले एमाले छाडेर मातृभूमि अभियान चलाए पनि त्यसले पार्टीलाई कुनै क्षति नपुगेको दाबी गर्दै अधिकारीले भने, “रावलले पार्टी छाडेपछि तत्कालीन निर्वाचनमा एमालेलाई नोक्सानी भइसकेकाले थप क्षति हुने छैन।”