प्रस्तावित नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीले आफूसहित लक्ष्मण थारु र धनिराम चौधरीलाई आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न नदिए देशमै चुनाव हुन नसक्ने चेतावनी दिएका छन्।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा आयोजना गरेको बृहत् राजनीतिक संवाद कार्यक्रममा बोल्दै चौधरीले टिकापुर घटनामा आफूलाई षड्यन्त्रपूर्वक फसाइएको दाबी गरे।
उनले भने, “देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउन लड्ने हामी, अनि कलम चलाउनेले फैसला गर्छ? अनि त्यो फैसलालाई हामीले मान्नुपर्ने?”
चौधरीले थपे, “रेशम थारु, धनिराम थारु र लक्ष्मण थारुले यो चुनावमा भाग लिन पाएनन् भने देशमा चुनाव नै हुन सक्दैन। सिङ्गो थारु समुदायको विद्रोहलाई पन्छाएर चुनाव सम्भव छैन।”
उनले नेपाली कांग्रेस, एमाले र जेनजीको इतिहास स्मरण गर्दै थारु समुदायको असन्तोष र अधिकारको मुद्दा अवमूल्यन गर्न नहुने चेतावनी पनि दिएका छन्।
चौधरीले अन्त्यमा भने, “जेनजीसँग जनताको साथ छ, नआत्तिनुहोस्। तर फसाउने खेलप्रति सबै सचेत रहनुपर्छ।”