नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएकी छन्।
हालैका दिनमा विभिन्न सञ्चार माध्यमहरूमा आफूविरुद्ध आएका भ्रामक र आधारहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले बुवाको सचिवालयबाट अलग हुने निर्णय गरेकी हुन्।
गंगाले सामाजिक सञ्जालमार्फत् लेख्दै भनिन्, “भाइ प्रकाश दाहालको असामयिक निधनपछि मम्मी सीता दाहाल बिरामी हुनुभएको बेला पार्टी नेताहरूको सल्लाहमा म बुवाको सचिवालयमा जिम्मेवारी लिएर आएको थिएँ। त्यस अवधिमा निस्वार्थ भावले पार्टी, आन्दोलन र बुवाको सहयोग गर्ने प्रयास गरें।”
उनका अनुसार सचिवालयमा रहेर सकेसम्म सबैको भावना अनुसार काम गर्ने प्रयास गरे पनि लगातार भ्रामक समाचार र व्यक्तिगत चरित्रहत्या गर्ने अभियानले आफूलाई पीडित बनाएको बताएकी छन्।
गंगाले लेखेकी छन्, “कहिले लाखौंको ब्याग भनिन्छ, कहिले लाखौंको घडी भनेर प्रचार हुन्छ। मैले त्यस्ता विलासी सामान कहिल्यै किनेकी छैन। साथीहरूले जन्मदिनमा दिएको उपहार मात्रै थियो, त्यो पनि अहिले छैन।” उनले थपेकी छन्, “बुवा र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारण पार्टी र आन्दोलनको हितमा सचिवालयबाट अलग हुने निर्णय गरेकी हुँ। तर, म जीवनभर पार्टीप्रति समर्पित रहनेछु।”
राजीनामासँगै उनले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै दिपावली, छठ र नेपाल संवतको शुभकामना पनि दिएकी छन्।