नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गते आफूहरूमाथि ज्यानै लिने मनसायले सांघातिक हमला भएको बताएका छन् ।जेनजी आन्दोलनपछि मंगलबार पार्टी कार्यालयमा सार्वजनिक भएका देउवाले सिंगो मुलुक जलेको बेला आफू र आफ्नो परिवारमाथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरिएको बताएका हुन् ।
‘घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घण्टौंको अथक प्रयासपछि हामीलाई उद्धार गरिएको थियो । म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्यो तपाईंहरू जानकार नै हुनुहुन्छ’, देउवाले भने, ‘त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छबि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरियो ।’पार्टीका नेताहरूको माया, प्रार्थना र कामनाले उपचारपछि आफू बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको देउवाले उल्लेख गरे ।
‘मेरो राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरू सम्झँदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउन सक्छ, केवल सामना गर्ने साहस राख्नु पर्छ भन्ने मेरो मान्यता रहेको छ’, देउवाले भने । यो घटनाक्रम झट्ट हेर्दा आफू र आफूजस्तै कांग्रेस र अन्य राजनीतिक दलका अनगिन्ती नेतामाथिको व्यक्तिगत आक्रमण जस्तो देखिएता पनि समग्रमा हेर्दा देश, पद्धति र पार्टीमाथिको आक्रमण नै हो भन्ने आफ्नो ठहर रहेको देउवाले बताए ।
‘म यो बैठकबाट आक्रमणकारीहरूको कब्जाबाट हामीलाई बचाउने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु, साथै जीवनभर स्मरण गरिरहनेछु’, देउवाले भने, ‘हाम्रो पार्टीको यो बैठक समसामयिक अवस्थाको ठोस विश्लेषण गरी देशलाई उचित निकास दिने गरी आवश्यक निर्णय गर्ने नै छ भन्ने मेरो विश्वास छ । नेपाली कांग्रेसले आफूलाई एकताबद्ध बनाएर देश सामु उपस्थित चुनौतीको सामना गर्नु छ ।’
राष्ट्र, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धति गम्भीर संकटमा परेको भन्दै देउवाले यस घडीमा पार्टीभित्र एकता कायम राख्नुपरेको उल्लेख गरे ।
‘यसलाई ध्यानमा राखी हाम्रो पार्टीको विधान अनुसार तोकिएको समयमा १५ औं महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिनेछ । देशमा विद्यमान राजनीतिक परिस्थितिको मूल्यांकन गरी निकासमा लागि आवश्यकता अनुसार अन्य राजनैतिक दलसँग पनि वार्ता सम्वाद गर्नुछ’, देउवाले भने, ‘मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्नेगरी तोकेको छु । उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नु हुनेछ भन्ने मेरो विश्वास छ ।’