धनगढीबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस शनिबार बिहान धनगढी उपमहानगरपालिका–४ बोराडाँडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा सोही स्थानका ६० वर्षीय गणेश शाही रहेका छन्।
दुर्घटनामा परेकी कैलाली कैलारी गाउँपालिका–१ की २१ वर्षीया सरस्वती चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, दुवै खुट्टामा गम्भीर चोट लागेका कंचनपुर पुनर्वास–६ का ३२ वर्षीय बिप्लव पोख्रेललाई उपचारका लागि भारतको लखनउ रेफर गरिएको छ।
घाइतेमध्ये धनगढी–५ का सुशिल भट्ट, पुनर्वास–८ की अस्मिता भट्टराई, खडानन्द शर्मा, अन्जना विश्वकर्मा र उनकी ५ वर्षीया छोरी एलियन विश्वकर्मा, ६० वर्षीया लक्ष्मी विश्वकर्मा, र धनगढी–१ का बिधान भण्डारीको धनगढीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै धनगढी–५ तारानगरका ३२ वर्षीय मनिष श्रेष्ठ, उनकी श्रीमती इन्दु श्रेष्ठ, र ६ वर्षीया छोरी प्रान्सी श्रेष्ठको नवजीवन अस्पतालमा उपचार भइरहेको छ।
डोटी जोरायल–१ का घनश्याम ओझा र पारस ओझा, धनगढी–५ हसनपुरकी प्रियंका श्रेष्ठ, कास्की पोखरा–१६ का सुनिल परियार र मन्जु परियार, प्रजोल पहाडी, र कंचनपुर बेलौरी–३ की सबिना रोकाया निसर्ग अस्पतालमा उपचाररत छन्। प्रारम्भिक अनुसन्धानका अनुसार स्कुटरलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ।
दुर्घटनामा घाइते भएका बसका सह–चालक स्याङ्जा फेदीखोला–१ का ३० वर्षीय बुद्ध गुरुङलाई सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ, भने बस चालक फरार भएको प्रहरीले जनाएको छ।