नेकपा (एमाले)का सचिव तथा पूर्व सांसद लेखराज भट्टले जेन–जी आन्दोलनका क्रममा ध्वस्त पारिएको आफ्नै घर अवलोकन गरेका छन्। मंगलबार पत्रकारसहित भट्ट गोदावरी–१ स्थित आफ्नो पुरानो घर पुगेका थिए।
गत भाद्र २४ गते आन्दोलनकारीले आगजनी गर्दा भट्टको नयाँ–पुरानो घरसहित ट्याक्टर जलेर ७ करोडभन्दा बढीको क्षति भएको थियो।
भट्टले घटनापछि भावुक हुँदै भने, “मेरो घर जल्यो भनेर मलाई पिर छैन, तर यो घरसँग मेरो भावना र इतिहास जोडिएको छ। मैले कहिल्यै भ्रष्टाचार गरेको छैन, न कसैलाई उत्पीडन गरेको छु। छानबिन गर्न तयार छु, जुनसुकै सजाय भए पनि भोग्न तयार छु।”
उनले राजनीतिमा लागेर सम्पत्ति जोडेको नभई उल्टै गुमाएको दाबी गर्दै थपे, “मेरो बुवा १९९४ सालमा तराई झर्नुभएको हो। पैत्रिक सम्पत्तिमै म १२ वर्षको उमेरदेखि आन्दोलनमा लागेको हुँ। आजसम्म मेरो विचार, सिद्धान्त र आदर्श मरेका छैनन्।”
भट्टकी धर्मपत्नी निर्मला भट्टले आन्दोलनकारीले आफूलाई समेत आक्रमण गर्ने योजना बनाएको आरोप लगाइन्।
“म यही घरमा थिएँ। उनीहरूले पहिलो सिसी क्यामेरा तोडे, त्यसपछि मलाई पनि आक्रमण गर्न सक्ने संकेत पाएपछि गोठतर्फ गएर ज्यान जोगाएँ,” उनले दुखेसो पोखिन्।
उनले स्वर्गीय सासूआमामाथि समेत आन्दोलनकारीले अपशब्द प्रयोग गरेको उल्लेख गरिन्।
भट्ट निवासमा मंगलबार एमालेका नेता–कार्यकर्ता ठूलो संख्यामा पुगेका थिए। उनका भाइ गोकर्ण भट्टका अनुसार उक्त घर २०५८ सालमा बनेको थियो, जसमा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहालसम्म विभिन्न नेता पुग्ने गरेका थिए।