सिद्धार्थ हस्पिटालिटीले सुदूरपश्चिमको प्रमुख सहर धनगढीमा आफ्नो सेवा विस्तार गरेको छ। यसअन्तर्गत भव्य लक्जरी रेष्टुरेन्ट, ‘सिद्धार्थ कटेज’ र मनोरञ्जनात्मक आकर्षणका रुपमा वाटर फन पार्क एण्ड स्वीमिङ पुल सञ्चालनमा ल्याइएको छ।
२०५४ सालतिर कैलालीको टीकापुरमा पहिलोपटक सेवा शुभारम्भ गरेको सिद्धार्थ समूहले २०८२ असोज ६ गतेदेखि धनगढीमा नयाँ संरचनाको उद्घाटन गरेको हो।
करिब ३० कठ्ठा क्षेत्रमा फैलिएको यस संरचनामा स्वीमिङ पुल, वाटर फन पार्क र १५०० जना अटाउने क्षमता भएको बैंक्वेट हल सञ्चालनमा आएको छ। आगामी तिहारसम्म लक्जरी रेष्टुरेन्ट पनि सञ्चालनमा आउनेछ।
सुदूरपश्चिमका नागरिकलाई गुणस्तरीय मनोरञ्जन पूर्वाधार उपलब्ध गराउने उद्देश्यले तयार गरिएको यस फन पार्कले आन्तरिक पर्यटन प्रवर्द्धन, रोजगारी सृजना र नयाँ गन्तव्यको रुपमा योगदान पुर्याउने अपेक्षा लिइएको छ।
सिद्धार्थ ग्रुप अन्तर्गत हाल ३० भन्दा बढी होटल, रेष्टुरेन्ट र रिसोर्ट सञ्चालनमा छन्। पाँच तारे स्तरको सिद्धार्थ भिलासा, चार तारे सिद्धार्थ वैभव, तीन तारे सिद्धार्थ बाटिका लगायतका होटलसहित विभिन्न स्थानमा सिद्धार्थ कटेज र एस क्याफे सञ्चालनमा छन्। हाल यस समूहमा करिब २५०० भन्दा बढी कर्मचारी प्रत्यक्ष रोजगारीमा संलग्न छन्।
क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपानेले धनगढीमा गरिएको यो विस्तारले सुदूरपश्चिमलाई लक्जरी तथा पारिवारिक गन्तव्यको रुपमा स्थापित गर्ने विश्वास व्यक्त गरे।