जेन–जी आन्दोलनको क्रममा नेकपा ( एमाले) का सचिव एवं पूर्व सांसद लेखराज भट्टको गोदावरी–१ मा रहेको पुरानो घर मंगलबार आन्दोलनकारीहरूले जलाएका छन्।
लेखराजका भाई गोकर्ण भट्टका अनुसार उक्त घर २०५८ सालमा निर्माण भएको र २०५९ सालमा गृहप्रवेश गरिएको थियो। सोही वर्ष भाद्र १९ गते गोकर्णकी पत्नीको निधन भएको थियो।
लेखराज भट्ट तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धका मुख्य नेता थिए। युद्धको समयमा पनि उक्त घर सेनाको निशानामा रहँदै आएको थियो। शान्ति प्रक्रियामा आएपछि पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ( लेखराज पछि एमाले बनेपछि ) एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले समय–समयमा सो घरमा भेटघाट र राजनीतिक छलफल गर्दै आएका थिए।
प्रचण्डले एकपटक उक्त घरमा आउँदा भनेका थिए,“यो घरमा माथि एउटा कोठा मेरो लागि सधैं हुन्छ, यो आफ्नै घर जस्तो लाग्छ। पटक–पटक म यहाँ आउने गर्छु।”
गोकर्णका अनुसार उक्त घर राजनीतिमा लाभको पदमा बसेर नभई बुबाको पुर्ख्यौली सम्पत्तिबाट निर्माण गरिएको हो", गोकर्ण भट्टले भने ,“दाजु मन्त्री हुँदा समेत भ्रष्टाचारमा संलग्न भएको प्रमाण कसैले देखाउनसके म फाँसीमा झुण्डिन तयार छु। जे–एन–जेडको नाममा घर जलाउनु अक्षम्य अपराध हो।”
उक्त आगजनीमा संलग्न केही व्यक्तिहरूको पहिचान भइसकेको गोकर्णको दाबी छ ।
गोकर्ण भट्टले फेसबुकमा अगाडि लेखेका छन् ," मेराे बुवा २०१३ सालमा मधेस झरेर दुख गर्दै कमाएकाे जायजेथा बाहेक हामी दाजुभाईले एक पैसा पनि कमाएकाे छैनाै । अहिलेसम्म जे- जस्तो अवस्थामा छाै बुवाकै परिश्रमकाे कमाइले घर ब्यहार धान्दै आएका छाै । ,मेराे दाजु ( लेखराज भट्ट ) काठमाडौं पढ्दै गर्दा कम्युनिस्ट बिचार प्रति प्रभावित भएर १५ बर्षकाे उमेरदेखि नै कम्युनिस्ट पार्टीको सदस्य बन्दै सधै देशमा भैरहेको अन्याय अत्याचारका विरुद्धमा आफ्नाे ज्यानकाे प्रवाह नगरी जिवनभर लडिरहनु भयाे र पार्टीले जनयुद्धको घाेषणा सँगै घर परिवार ब्यक्तिगत शुख सबै त्याग्दै दाजुभाउजु जनयुद्धमा हाेमिनु भएकाे कुरा मैले भनिरनुपर्छ जस्ताे लाग्दैन । जनयुद्धकालमा कैयाै युद्ध माेर्चामा नेतृत्व गर्दै आउनु भयाे र कैयाै पटक तत्कालीन शाही सेनाकाे घेरा ताेड्दै बाँच्न सफल हुनु भयाे र मेराे याे नाफाको जीवन जे जति सक्छु देश र जनताको सेवा गर्छु भनेर अहिलेसम्म लागि रहनु भयाे । तर एक्कासी जेन -जेडका नाममा घर जलायर खरानी बनाए , जुन मैले र मेराे स्वर्गीय पत्नी मिलेर पैतृक सम्पत्ति बेचेर बनाएका थियाै , मेराे दाजु मन्त्री हुनु भयाे तर मन्त्रीले पाउने सेवासुबिधा बाहेक कहि कतै बेइमानी र भ्रष्टाचार गर्नु भएन । भ्रष्टाचार गरेकाे कसैले प्रमाणित गर्नसक्छ भने म चुनाैतिका साथ भन्छु म मेराे दाजुसँगै फाँसीमा झुण्डिन तयार छु । कसैलाई काेही मानिस मन परेन भन्दैमा घुसपैठ गरेर कसैकाे घर जलाउने निक्रिष्ट काम र अपराध हाे । घर जलाउन सँलग्न केही ब्यक्तिकाे पहिचान पनि भैसकेकाे छ हामी कुनैपनि हालतमा बिचलित हुने छैनाै अझ इस्पात जस्तै धारीलाे बन्नेछाै |"
भट्टका भाईले आन्दोलनमा सहभागी युवाहरूसँग आग्रह गर्दै भनेका छन् , “यदि साच्चिकै भ्रष्टाचारविरहित देश बनाउन चाहन्छौं भने समस्या संविधानभित्रै समाधान खोजौं। निजी सम्पत्तिमा आगजनी गर्नु उचित होइन।”