सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा गएको टोलीले बुधबार संघीय तीनजना मन्त्री र एकजना राज्यमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ।
मुख्यमन्त्री शाहको टोलीले गृहमन्त्री रमेश लेखक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण राज्यमन्त्री रुपा बिक र मन्त्रालयका सचिव डा. गोबिन्दप्रसाद शर्मासँग छलफल गरेको हो।
प्रदेश सरकारले आगामी सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन–२०८२ को तयारी स्वरूप संघीय राजधानीमा मन्त्रालय, दातृ निकाय, निजी क्षेत्र, व्यापारी तथा कूटनीतिक नियोगसँग निरन्तर छलफल तथा अन्तरक्रिया गरिरहेको छ।
भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिममा पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
उनले सम्मेलनलाई सफल बनाउन संघीय सरकारको आवश्यक सहयोग र सहकार्य अपेक्षा गरिएको बताए।कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले लगानी क्षेत्रलाई उत्पादन र निर्यातसँग जोड्नुपर्नेमा जोड दिए।
उनले दातृ निकाय मात्र नभई विदेशी व्यक्तिगत लगानीकर्तालाई समेत आकर्षित गर्ने नीति बनाउनुपर्ने धारणा राख्दै कृषि क्षेत्रका चुनौती समयमै पहिचान गरी व्यवस्थापन गर्न सके क्षति कम गर्न सकिने बताए।