नेपाल चेम्बर अफ कमर्सको ७५औँ स्थापना दिवसको अवसरमा देशव्यापी रूपमा मनाइएका हीरक जयन्ती कार्यक्रमअन्तर्गत सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न स्थानमा वृक्षारोपण गरिएको छ।
गोदावरी नगरपालिका–२, शान्ती टोलस्थित शान्ती ग्रिन पार्कमा सुदूरपश्चिम प्रदेश युवा चेम्बरका अध्यक्ष जय धामीको नेतृत्वमा टोल विकास समितिका सल्लाहकार, सदस्य तथा पार्क व्यवसाय प्रवर्द्धन समितिका अध्यक्षलगायतको सहभागितामा ७५ वटा फूलका बिरुवा रोपिएका छन्।
यस्तै, धनगढी उपमहानगरपालिका–१३ स्थित पाहुना घर तथा होमस्टे सञ्चालिका करुणा चौधरीलाई ७५ फूलका बिरुवा तथा धनगढी उपमहानगरपालिका तारानगरस्थित जगदम्बा बहुउद्देश्यीय नर्सरीका सञ्चालक तथा पुष्प व्यवसायी–कृषक समूह धनगढीका अध्यक्ष वलदेव प्रसाद भट्टलाई पनि ७५ बिरुवा नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशका अध्यक्ष विनोद मल्लले हस्तान्तरण गरेका छन्।
महासचिव रविन भट्टका अनुसार, कैलाली चेम्बर अफ कमर्स, धनगढी उपमहानगरपालिका चेम्बर, गौरीगंगा चेम्बर, सुदूरपश्चिम प्रदेश चेम्बर र प्रदेश युवा चेम्बर अफ कमर्सले कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा वृक्षारोपण र फूलका बिरुवा रोपेका छन्।
वि.सं. २००७ असोज २७ गते स्थापना भएको नेपाल चेम्बर अफ कमर्सले उद्योग र वाणिज्य क्षेत्रको विकास, निजी तथा सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गर्दै आएको छ। वि.सं. २०१२ मा यसको अगुवाइमा उद्योग–वाणिज्यसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन भएको थियो।
कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रमोद अधिकारीका अनुसार, चेम्बर आन्दोलनलाई अभियानका रूपमा विस्तार गर्दै व्यवसायिक क्षेत्र सशक्तिकरणका लागि विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन्। हाल नेपाल चेम्बर अफ कमर्स ७० अन्तर्राष्ट्रिय चेम्बरसँग समझदारीपत्रमार्फत आर्थिक सहकार्य गर्दै आएको छ भने सुदूरपश्चिम प्रदेशका व्यवसायिक मुद्दामा सक्रिय वकालत गरिरहेको छ।
महासचिव रविन भट्टका अनुसार, चेम्बरले पर्यटन प्रवर्द्धन, प्रदेशमै उत्पादन–उपभोग, प्रदेशकै सामग्रीको प्रयोग र उत्पादनको अभियानलाई प्राथमिकता दिँदै ‘समृद्ध सुदूरपश्चिम’ लक्ष्यका साथ काम गरिरहेको छ।