नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी विभाजनको हल्ला पार्टीकै शीर्ष तहबाट फैलाइएको आरोप लगाएका छन्। आइतबार पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा शर्माले आफूलाई धकेल्ने प्रयास भइरहेको र पार्टी नछाड्ने दाबी गरेका हुन्।
“जनार्दनले पार्टी फुटाउँछ भनेर हल्ला चलाइएको छ, म यस्तो भ्रम खारेज गर्छु,” शर्माले भने, “पार्टीबाट धकेल्न खोजे पनि म छाड्दिनँ।”उनले माओवादी पार्टी निर्माणमा आफ्नो पनि महत्वपूर्ण योगदान रहेको भन्दै अहिलेको आरोपप्रति आपत्ति जनाए।
“अरू नेताहरूले पार्टी बन्दैन भनेका बेला म लागिरहेको थिएँ,” उनले थपे, “त्यसको सजाय दिन खोजिएको हो भने म सजाय भोग्न तयार छु।”शर्माले माओवादीको जनमत खस्किनुको जिम्मा सबैले लिनुपर्ने बताए। “पहिलो चुनावमा ३१ लाख मत पाएको पार्टी अहिले ११ लाखमा झरेको छ। यसको जिम्मा कसले लिने?” शर्माले प्रश्न उठाए। “यदि मेरो दोष छ भने भोग्न तयार छु, होइन भने यस्तो अवस्थामा ल्याउनेले पनि जिम्मेवारी लिनुपर्छ।”
उनले माओवादीले अघि सारेको सुशासन अभियान कांग्रेस–एमालेसँगको २ बुँदे सहमति भएपछि कमजोर भएको टिप्पणी गरे। “सरकारको खेलमा लाग्नु कमजोरी हो,” शर्माले भने, “सुशासनको अभियान त २ बुँदेमा गएर विसर्जन भइहाल्यो।”
शर्माले जनवर्गीय संगठनमा गुटबन्दीको प्रवृत्ति स्वयं अध्यक्ष प्रचण्डबाटै भएको पनि टिप्पणी गरे। पार्टीमा विचार र वर्ग प्रतिबद्धता कमजोर भएको, संघीयताको स्वामित्व लिन नसकेको आरोपसमेत उनले लगाए।
शर्माले कार्यकर्तामा भ्रम फैलाउने काम ‘हेडक्वार्टर’बाटै भइरहेको भन्दै त्यसले पार्टी निर्माणको अभियानमा असर पारेको बताए।
उनका अनुसार ‘पार्टी फुट्ने हल्ला’ देशी–विदेशी तत्वका कारण नभई स्वदेशमै निर्माण गरिएको हो।