नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा नेतृत्व परिवर्तन भएको छ। काठमाडाैंमा सम्पन्न राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाउँदै लालवीर चौधरीलाई नयाँ अध्यक्षमा चयन गरेको हो।
लालवीर पार्टीका सांसदसमेत हुन् र टीकापुर घटनामा दोषी ठहर भइसकेका पूर्वसांसद रेशम चौधरीका पिता हुन्।
नयाँ अध्यक्षमा चयन भएपछि पत्रकारहरूसँग कुरा गर्दै लालवीरले पार्टीलाई निर्णयहीन अवस्थाबाट बाहिर ल्याउन आफूले नेतृत्व लिएको बताए। उनले भने, "डेढ वर्षदेखि बैठक नबसेकोले पार्टी अनिर्णयको बन्दी बनेको थियो। अहिले रुपन्देहीमा उपनिर्वाचनको तयारी भइरहेकाले उम्मेदवारी प्रक्रिया अघि बढाउन यो निर्णय आवश्यक भयो।'
तर बर्खास्त गरिएकी अध्यक्ष रञ्जिता श्रेष्ठले उक्त भेला ‘अवैध’ भएको जिकिर गरेकी छन्। श्रेष्ठले आज मात्रै संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोध्दै पत्र पठाएकी थिइन्।
श्रेष्ठ पछिल्लो समय घुस प्रकरणमा मुछिएपछि विवादमा परेकी थिइन्। यद्यपि रेशम र रञ्जिता पति–पत्नी हुन् र दुवैबीच पार्टीको नेतृत्वमा लामो समयदेखि विवाद चल्दै आएको छ।
टीकापुर घटनाका मुख्य योजनाकार ठहर भई जेल पुगेका रेशम चौधरीले जेलमै रहँदा पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर पार्टी सञ्चालन गरेका थिए।
हाल राष्ट्रपतिबाट आममाफी पाएपछि उनी जेलमुक्त भएका छन्। रिहाइपश्चात टीकापुरमै गरिएको महाधिवेशनबाट रेशम आफैं अध्यक्ष बनेका थिए।
तर निर्वाचन आयोगले हत्या मुद्दामा दोषी ठहर व्यक्ति राजनीतिक दलको अध्यक्ष हुन नसक्ने भन्दै रञ्जिताकै नेतृत्वलाई मान्यता दिएको थियो। हाल रेशमलाई दिइएको आममाफीविरुद्ध मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
राजनीतिक भविष्य अन्योलमा परेपछि रेशमले पहिला श्रीमती र अब आफ्ना बुबालाई पार्टीको अगुवाईमा अघि सारेका छन्।
हालै उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग राजनीतिक भेटसमेत गरेका थिए। उक्त भेटलाई उनले 'महत्त्वपूर्ण राजनीतिक छलफल' भन्दै उल्लेख गरेका छन्।