प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई तत्काल पार्टीको नेतृत्व सुम्पन सकिने अवस्था नरहेको स्पष्ट पारेका छन्।
वरिष्ठ पत्रकार विजय कुमारसँगको अन्तर्वार्तामा बोल्दै ओलीले राष्ट्रपतिको जस्तो गरिमामय पद सम्हालेको व्यक्तिले पुनः दलगत राजनीतिमा फर्कनु प्रणालीगत र नैतिक दृष्टिले जटिल विषय भएको बताए।
“अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन,” ओलीले भने, “एक त उहाँ पार्टी काम छोडेर धेरै वर्ष बाहिर जानुभएको छ। दोस्रो, पार्टीले त्यो ठानेको वा मानेको अवस्था छैन।”
उनले राष्ट्रपतिको भूमिकाबारे विस्तृत व्याख्या गर्दै राष्ट्रपतिको पद राष्ट्रको साझा, निष्पक्ष र सम्मानित अभिभावकको रूपमा रहने बताए। ओलीका अनुसार राष्ट्रपति हुने व्यक्ति पहिले पार्टी परित्याग गरी निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।
ओलीले पूर्वराष्ट्रपति डा. रामवरण यादवको निष्पक्ष भूमिकाको उदाहरण दिँदै विद्यादेवी भण्डारीले पनि राष्ट्रपतिको रूपमा मर्यादित कार्यकाल पूरा गरेको उल्लेख गरे। तर, एकपटक राष्ट्रको अभिभावक बनिसकेको व्यक्तिले पुनः दलगत राजनीति गर्नुले प्रणाली र समाजमा गहिरो प्रभाव पार्ने भन्दै गम्भीर विमर्श आवश्यक रहेको बताए।
पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा नियोजित रूपमा फर्किंदैछिन् भन्ने अडकलबारे अध्यक्ष ओलीले अस्वीकार गर्दै भने, “यस्तो खालको हाइपोथेसिस र हिपोक्रेसीमा म विश्वास गर्दिनँ।”
उनका अनुसार पार्टीमा भण्डारीको सक्रिय राजनीतिमा फर्कनेबारे कुनै औपचारिक प्रस्ताव आइनसकेको र स्वयम् ओलीसँग पनि कुनै परामर्श नभएको छ।
यद्यपि उनले थपे, “उहाँले प्रश्न उठाइसकेपछि र म आउँछु भनेपछि पार्टीले बसेर यस सम्बन्धमा निर्णय गर्नुपर्छ। तर धेरै ढिलो गर्दैनौँ।”