सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरेका छन्।
मुख्यमन्त्री शाहले असार ३ गते राजीनामा दिन निर्देशन दिए पनि मन्त्री चौधरीले अवज्ञा गर्दै ‘सक्ने भए बर्खास्त गर’ भन्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए।
चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन् र जेठ ४ गते मन्त्रीमा नियुक्त भएका थिए। कांग्रेस नेतृत्वको प्रदेश सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी सहयात्री रहेका छन्।
मुख्यमन्त्री शाहको सचिवालयका अनुसार बजेट निर्माणका क्रममा चौधरीले वित्तीय अनुशासन नपालेको, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गर्दा मन्त्रालय तथा मन्त्रिपरिषदलाई जानकारी नदिएको लगायत कारणले असन्तुष्टि जनाउँदै राजीनामा मागिएको थियो।
मन्त्री चौधरी बर्खास्त भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाह आफैंले सम्हालेका छन्।
यसअघि पनि सोही मन्त्रालयका तत्कालीन वनमन्त्री लक्ष्मणकिशोर चौधरी विवादमा परेका थिए। आर्थिक लेनदेनको आरोपपछि उनी गत चैतमा राजीनामा दिन बाध्य भएका थिए।
लक्ष्मणकिशोर पनि नागरिक उन्मुक्तिबाटै मन्त्री बनेका थिए। अब नागरिक उन्मुक्ति पार्टीले प्रदेश र केन्द्रीय सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने आंकलन गरिएको छ ।।