सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा खुटिया–दिपायल फास्ट ट्र्याक र बुडर–जोरायल–गड्सेरा सडक खण्डजस्ता महत्त्वपूर्ण योजनाहरूलाई समावेश नगरेको भन्दै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
उनले प्रदेश सरकारप्रति खेद प्रकट गर्दै आवश्यक परे दबाबमूलक कदम चालिने चेतावनी दिएका छन्।
“जोरायललाई योजना तर्जुमा र बजेट वितरणको क्रममा पूर्ण रूपमा बेवास्ता गरिएको छ,” अध्यक्ष ओझाले भने, “सुदूरपश्चिमकै गौरवका योजनामध्ये पर्ने सडक योजनाहरूमा समेत बजेट नछुट्टाइनु अत्यन्तै दुखद विषय हो।”
उनका अनुसार जोरायल गाउँपालिकाभित्र उत्पादन हुने कृषिजन्य उपज, जडीबुटी तथा अन्य सामग्रीहरू बजारमा पुर्याउन सडक सञ्जाल कमजोर हुनु मुख्य बाधा बनिरहेको छ। “सडक विस्तार र सुधार भएको भए यहाँको आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुन्थ्यो,” उनले थपे।
सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटमा खुटिया–दिपायल फास्ट ट्र्याक र बुडर–जोरायल–गड्सेरा सडक योजनाको नामसमेत नरहेको स्थानीय जनप्रतिनिधिहरूको गुनासो छ। उक्त योजनाहरू लामो समयदेखि स्थानीय विकासको मेरुदण्ड मानिँदै आएका थिए।
प्रदेश सरकारले सडक पूर्वाधारमा प्राथमिकता नदिएको आरोप लगाउँदै अध्यक्ष ओझाले चेतावनी दिएका छन् कि यदि उचित बजेट र योजना नआए, भने गाउँपालिकाले वैधानिक दबाबमूलक कार्यक्रम अघि सार्न सक्नेछ।
“जनताको अपेक्षा विपरीतको बजेट आएको छ। हामी यथास्थितिलाई स्वीकार गर्न सक्दैनौं,” उनले भने।