नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले जननेता मदन भण्डारीको विचार र सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याएका छन्।
मदन भण्डारी फाउण्डेसन कैलालीद्वारा सुखडमा आयोजित ‘जनतासँग जबजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा बोल्दै उनले पार्टीभित्र एकता, सिद्धान्तपालन र स्वच्छ प्रतिस्पर्धाको महत्वमा जोड दिए।
“भित्तामा तस्बिर टाँसेर मात्रै पुग्दैन, मदन भण्डारीको विचार बुझ्न र आत्मसात् गर्नुपर्छ,” नेता भट्टले भने।
उनले पार्टीभित्र देखिएका व्यवहारगत असहमति गम्भीर विश्लेषणको खाँचो रहेको बताए। “नीति र नेतृत्वमा विवाद छैन भनिए पनि व्यवहारमा देखिएको असहमति गम्भीर विश्लेषणको विषय हो,” भट्टको भनाइ थियो।
कैलाली कमजोर हुँदा सिंगो सुदूरपश्चिम नै प्रभावित हुने भन्दै उनले गुटभन्दा टिम निर्माणमा ध्यान दिनुपर्ने बताए। “कैलालीभित्रै किन पार्टीमा एकता छैन? गुट बनाउने कि टिम?” भन्ने प्रश्न गर्दै उनले आन्तरिक एकतामा जोड दिए।
पूर्व माओवादीमाथि लगाइने ‘आयातित’ भन्ने आरोपको खण्डन गर्दै उनले भने, “हामी भारतबाट आएका होइनौं। जनयुद्ध आवश्यकता थियो, त्यसैले भएको हो। आज पनि म एमालेमा आवश्यकता अनुसार छु।”
२०७९ सालको निर्वाचनमा इमानदारीपूर्वक मत दिइएको भए कांग्रेसभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै उनले आगामी निर्वाचनसम्म संगठनलाई एकताबद्ध बनाउनुपर्ने बताए।
“ममाथि गाली गर्नुहोस्, तर सहिदलाई आतङ्ककारी भन्नु अपमान हो,” भन्दै उनले आन्दोलन र सहिदहरूको सम्मान गर्न आग्रह गरे।