सुदूरपश्चिम प्रदेशमा संगठनात्मक उपस्थिति कमजोर बनेपछि नेकपा (एमाले) ले पार्टी संगठन सुदृढ गर्न आन्तरिक गृहकार्य थालेको छ। पार्टी केन्द्रको निर्देशन अनुसार संगठन सुदृढीकरणका लागि रणनीति निर्माण र सूक्ष्म अनुगमनका काम अघि बढाइएको छ।
यस अभियानलाई प्रभावकारी बनाउन पार्टी पोलिटब्युरो सदस्य लीला भण्डारी र केन्द्रीय सदस्य लालबहादुर थापा लाई प्रमुख जिम्मेवारी दिइएको छ। भण्डारीलाई कैलाली र कञ्चनपुर जिल्लाको जिम्मेवारी दिइएको छ भने थापालाई डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको समग्र अनुगमन र समन्वयको जिम्मा दिइएको छ।
पार्टी केन्द्रीय संगठन विभागको वैशाख १४ गते बसेको २२ औँ बैठकको निर्णय अनुसार नेताहरूलाई जिल्ला पठाइएको हो। सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्द्र का अनुसार उनी स्वयं पनि थापा नेतृत्वको टिममा सहभागी भएर जिल्लागत दौडाहामा छन्।
थापाले हाल डडेलधुराबाट संगठनको अध्ययन र अनुगमन सुरु गरिसकेका छन्। बैतडी सकाएर अहिले दार्चुला पुगेको टिमले पार्टी सचिवालय बैठक, संगठन विभागको समीक्षा, जिल्ला पदाधिकारी, केन्द्रीय सदस्य र स्थानीय नेता–कार्यकर्तासँग भेटघाटलाई प्राथमिकतामा राखेको छ।
पार्टी स्रोतका अनुसार संगठन बलियो बनाउन २० बुँदे प्रश्नावली तयार पारिएको छ, जसको आधारमा संगठनको अवस्था मूल्याङ्कन भइरहेको छ।
२०७९ सालको निर्वाचनमा एमाले सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रपछि दोस्रो स्थानमा सीमित बनेको थियो। प्रदेशभरका १६ संघीय सिटमध्ये पार्टीले मात्र २ सिट जित्न सकेको थियो। यही पृष्ठभूमिमा संगठनको समिक्षा र पुनर्संरचनाका लागि केन्द्रबाटै नेता परिचालन गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी ले जानकारी दिए।
सुदूरपश्चिममा एमालेका ५२ हजारभन्दा बढी संगठित सदस्य छन्। पार्टी नविकिरणको अवस्था, संगठन विस्तार तथा नयाँ सदस्य थप्ने विषयमा पनि जिल्लास्तरीय छलफल भइरहेको बताइएको छ।