अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) सँगै दुग्ध प्रशोधन केन्द्र स्थापना गर्ने गरि ठाउँ एकिन गर्न नगरपालिका को नेतृत्वले सकृयता बढाएको छ ।
गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टका अनुसार डीडीसीका उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीलाई नगरपालिकाभित्रका तीनवटा स्थानमा प्रस्ताव गरिएको जग्गाको स्थलगत अवलोकन गराइएको थियो। स्थलगत अवलोकनपश्चात तयार गरिएको प्रतिवेदनको एक प्रति डीडीसीलाई बुझाइएको छ।
प्रतिवेदनअनुसार बिक्री केन्द्र सञ्चालनका लागि वडा नम्बर १ मा वडा कार्यालयसँग जोडिएको स्थान उपयुक्त ठहरिएको छ भने प्रशोधन केन्द्र निर्माणका लागि वडा नम्बर ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रको जग्गा उपयुक्त भएको उल्लेख गरिएको छ।
नगरप्रमुख भट्टले भने, "स्थानीयस्तरमा सम्भाव्यता अध्ययन गरेर हामीले विकल्प प्रस्तुत गरेका छौं। अब मन्त्रालयले निर्णय गरेपछि डीडीसीको भविष्य टुंगो लाग्नेछ।"
यता डीडीसीका उपमहाप्रबन्धक अधिकारीले अत्तरियामा जारी तालाबन्दी खोल्ने तयारी भइरहेको जानकारी दिए। "जग्गा अनुगमनपछि तयार हुने प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेश गरेपछि मात्र अत्तरियामै प्रशोधन केन्द्र रहने कि नरहने भन्ने निर्णय हुनेछ," अधिकारीले भने।
यसअघि डीडीसीलाई धनगढी सार्ने तयारी भएको विरोधमा स्थानीयबासीले संघर्ष समिति गठन गरी कार्यालय प्रमुखलाई थुन्नेदेखि तालाबन्दीसम्मका कार्यक्रम सञ्चालन गरेका थिए। तर हाल नगरपालिकाले संघर्ष समितिसँग समन्वय नगरी आफ्नै पहलमा प्रक्रिया अघि बढाएपछि समितिका सदस्यहरू असन्तुष्ट बनेका छन्।
संघर्ष समितिका एक सदस्यले भने, "पहल जसले गरे पनि हुन्छ, तर अत्तरियामा डीडीसी रहनैपर्छ। स्थानीयको भेलाबाट गठन भएको समिति भएकाले जनप्रतिनिधिहरूले समन्वय गरेर अघि बढेको भए अझ प्रभावकारी हुन्थ्यो। अहिले नगरपालिकाले के गरिरहेको छ भन्ने हामीलाई जानकारी दिइएको छैन।"