सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
प्रदेशसभा बैठकमा आइतबार आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह थापाले बजेट प्रस्तुत गर्दै आगामी वर्षको खर्च र स्रोतको विस्तृत विवरण दिएका हुन्।
उनका अनुसार कुल बजेटमध्ये ३०.४९ प्रतिशत अर्थात् १० अर्ब २० करोड ८१ लाख ८२ हजार चालू खर्चतर्फ विनियोजन गरिएको छ भने ५९.२५ प्रतिशत अर्थात् १९ अर्ब ८३ करोड दुई लाख ६ हजार पुँजीगत खर्चतर्फ छुट्याइएको छ।
त्यस्तै, ३ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ अन्तरवित्तीय हस्तान्तरणतर्फ र १ करोड रुपैयाँ वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको छ।
मन्त्री थापाका अनुसार बजेट खर्चको स्रोतका रूपमा आन्तरिक राजस्वबाट १ अर्ब ६५ करोड, संघ सरकारबाट राजस्व बाँडफाँटमा ९ अर्ब ८७ करोड २५ लाख र संघीय रोयल्टी बाँडफाँटबाट ८ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै, वित्तीय समानीकरण अनुदानमार्फत ८ अर्ब ९२ करोड ५६ लाख, अघिल्लो वर्षको बचत ७ अर्ब ६६ करोड ६३ लाख, सशर्त अनुदानबाट ४ अर्ब १६ करोड ३० लाख, संघीय समपूरक अनुदानबाट ६० करोड २६ लाख र विशेष अनुदानबाट ५१ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
सरकारले बजेटमार्फत आर्थिक सन्तुलन, सेवा प्रवाह, र पूर्वाधार निर्माणमा जोड दिने बताएको छ। यद्यपि, बजेटको ठूलो हिस्सा संघीय सरकारको अनुदान र बाँडफाँटमा आधारित भएकाले प्रदेश सरकारको आत्मनिर्भरता अझै कमजोर देखिएको छ।