कैलालीको गोदावरी नगरपालिकाले एक आर्थिक वर्षमा इन्धन खरिदमा मात्र झण्डै ९७ लाख ६६ हजार रुपैयाँ खर्च गरेको छ। तर, त्यसमध्ये ७१ लाख ६५ हजार रुपैयाँभन्दा बढी खर्चको अभिलेख अस्पष्ट भएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ।
आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै महालेखा परीक्षकको कार्यालयले इन्धन खर्चमा पारदर्शिता नदेखिएको उल्लेख गरेको छ। प्रतिवेदनअनुसार नगरपालिकाले "कार्यालय प्रयोजन" शीर्षकमा ८७ लाख २१ हजार रुपैयाँ र "अन्य प्रयोजन" अन्तर्गत १० लाख ४५ हजार रुपैयाँ गरी कुल ९७ लाख ६६ हजार ८४९ रुपैयाँ इन्धनमा खर्च गरेको हो।
तर, दमकल, एम्बुलेन्स, ब्याकहो लोडर जस्ता सवारी र उपकरणहरू कति समय प्रयोग गरिए, तीले कति इन्धन खपत गरे भन्ने स्पष्ट अभिलेख नरहेको भन्दै महालेखाले प्रश्न उठाएको छ। साथै, इन्धन प्रयोग गर्ने पदाधिकारीहरूको प्रयोग विवरण पनि अभिलेख नभएको उल्लेख गरिएको छ।
"इन्धन खपत सम्बन्धी वस्तुगत परीक्षण गर्न सकिने अवस्था देखिएन," प्रतिवेदनमा भनिएको छ, "साथै, इन्धन व्यवस्थापनको लागि प्रयोग हुने Public Asset Management System (PAMS) पनि पूर्ण रूपमा कार्यान्वयन गरिएको छैन।"
महालेखा परीक्षकको कार्यालयले नगरपालिकालाई इन्धन खर्च पारदर्शी बनाउन PAMS प्रणालीको पूर्ण प्रयोग गर्न र सवारी साधन तथा उपकरणहरूको इन्धन खपत मापदण्ड तयार गर्न सुझाव दिएको छ।