कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी नदिमा झन्डै ३ करोड रुपैयाँको लागतमा तटबन्ध, पानी ट्यांकी र चिहान स्थल निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ। यो परियोजना प्रदेश सरकार र संघीय सरकार दुवैको लगानीमा सञ्चालन भइरहेको हो।
प्रदेशको सामाजिक विकास मन्त्रालयको १ करोड रुपैयाँ बजेटबाट चिहान स्थल नजिकै तटबन्ध, डिप ट्युबेल तथा आरसी सडक निर्माण गरिएको छ। यस्तै, संघीय सरकारको पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत बाँकी संरचनाहरू निर्माण भैरहेका छन्।
गोदावरी नगरपालिकाले झण्डै २ करोड २४ लाख रुपैयाँ (भ्याटसहित) बजेटमा जग्गादम्बा भवानी कन्स्ट्रक्सनलाई ठेक्का दिएको छ। निर्माण कम्पनीले ७ वटा चिहान स्थल, ३ करोड लिटर क्षमताको पानी ट्यांकी र ११ वटा स्नानधारा निर्माण गर्नेछ।
नगरपालिकाका इन्जिनियर पूर्ण कुँवरका अनुसार निर्माण कार्य अहिले तीव्र रूपमा अगाडि बढिरहेको छ र असार मसान्तसम्ममा सबै संरचना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
स्थानीयका अनुसार गोदावरी क्षेत्रमा शुख्खा मौसममा पानीको चरम अभाव हुने भएकाले अन्तिम संस्कार (अन्त्येष्टि) गर्न ठूलो समस्या हुने गर्छ। यहाँ दैनिक करिब आधा दर्जनभन्दा बढी व्यक्तिहरुको अन्तिम संस्कार गरिँदै आएको छ।
यद्यपि, गोदावरी नदी वर्षायाममा निकै उर्लिने भएकाले बलियो तटबन्ध निर्माण नगरेसम्म संरचनामा गरिएको लगानी जोखिममा पर्ने स्थानीयवासीको चिन्ता छ।