नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्वयिुको २४औँ राष्ट्रिय महाधिवेशन जेठ २५ देखि सुरु हुँदै छ । त्यसअघि संगठनका नेताहरूले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर महाधिवेशनको तयारीबारे आवश्यक ब्रिफिङ गरेका छन् ।
ब्रिफिङ गर्न जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालको नेतृत्वमा बालुवाटार पुगेका पूर्वअध्यक्षहरु माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर, सुनिता बरालसहित वर्तमान पदाधिकारीहरूलाई अध्यक्ष ओलीले पार्टी चौतर्फी घेराबन्दीमा रहेकाले अनेरास्ववियुले नेतृत्व सहमतिमै चयन गर्न सुझाव दिएको बताइएको छ ।
जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुमा ३२ बर्से उमेरहदको मापदण्ड लागू गर्ने निर्णय गरेको थियो । यो निर्णयअनुसार महाधिवेशनमा हालका पाँच जना सचिवहरूमध्येबाट नेतृत्व चयन हुने निश्चित जस्तै छ । सचिवहरू प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, आरती भट्टराई र अञ्जना सिवाकोटी अध्यक्षका मुख्य आकाङ्क्षी छन् ।
सहमतिमै नेतृत्व चयन गर्न अध्यक्ष ओलीले समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालसहित पूर्व अध्यक्षहरू माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर, सुनिता बराल र वर्तमान अध्यक्ष समिक बडाललाई जिम्मेवारी दिएका छन् ।
एमाले निकट स्रोतका अनुसार सहमति हुँदा प्रकाश पौडेल र दीपक धामीमध्ये एक जनामा सहमति जुट्नसक्छ ।
महाधिवेशनले नौ पदाधिकारी १५१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।
को हुन् धामी ?
अध्यक्षका आकांक्षी धामी सुदूरपश्चिमबाट काठमाण्डौमा उच्च शिक्षा हासिल गर्न गएका हुन्। उनले स्तुपा कलेज बौद्धबाट एचए र बिपिएच अध्ययन पुरा गरेका छन् भने अहिले एलएलबी अध्ययनरत छन्। धामीले डोटीको सीताराम उच्च मावि कक्षा ८ मा पढ्दा नै अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनिति सुरु गरेका थिए।
त्यसपछि काठमाण्डौमा स्तुपा कलेज बौद्धको क्याम्पस कमिटीमा सदस्य हुँदै दुई कार्यकाल अध्यक्ष समेत भएका थिए। त्यसपछि सिटिइभिटि राष्ट्रिय कमिटिको सदस्य, कोषाध्यक्ष हुँदै अध्यक्ष समेत भएका थिए।
त्यसपछि धामी अनेरास्ववियुको केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य हुदै २०७९ मा अनेरास्ववियुको २३ औं महाधिवेशनबाट केन्द्रीय सचिव निर्वाचित भएका थिए।