डडेल्धुराकाे राजनीतिमा ‘मम्याल बाजे’ नामले परिचित कर्णसिंह रावलको ८४ वर्षको उमेरमा आज निधन भएको छ।
डडेल्धुराको अमरगढी नगरपालिका निवासी रावल विगत दुई दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिँदै आएका थिए। नवदुर्गा गाउँपालिकास्थित मम्या गाउँका बासिन्दा भएकाले उनी ‘मम्याल बाजे’ भनेर चिनिन्थे।
२०५६ सालदेखि लगातार पाँचपटक देउवाविरुद्ध चुनाव लडेका रावलले प्रचारप्रसार नगरीकनै उम्मेदवारी दिने परम्परा बनाएका थिए। “मलाई जिल्लाभरि चिन्छन्, त्यसैले प्रचार गर्दिनँ” भन्ने उनी प्रत्येक निर्वाचनमा सूर्यमुखी फूल अंकित ब्याच लगाएर उपस्थित हुन्थे। उनको देउवाविरुद्धको राजनीतिक प्रतिशोध २०४८ सालदेखि सुरु भएको हो।
त्यतिबेला मालपोत कार्यालयमा कार्यरत रावलले देउवालाई डडेल्धुराबाट पहिलोपटक चुनाव जिताउन ठुलो भूमिका खेलेका थिए। “मैले आफ्ना आफन्तबाट सयभन्दा बढी भोट हाल्न लगाएर देउवालाई जिताएको हुँ”, उनी भन्दथे। तर, त्यसको केही समयपछि उनले आफूलाई बैतडी सरुवा गरिएको थाहा पाए। देउवासँग जिल्लामै बस्न पाउने अपेक्षा लिएर काठमाडौँ पुगेका रावलले त्यहाँबाट निराशा मात्र पाए।
“आफ्नो मान्छे राखिसकेका छौँ, उसलाई बैतडी पठाऊ”, भन्ने खबर पाएपछि रावलको मनमा चिसो घाउ बस्यो। त्यसै दिनदेखि उनले देउवाविरुद्ध चुनाव लड्ने अठोट गरे। र, त्यसपछि पाँचपटकसम्म त्यसलाई पूरा गर्दै आए।
उनी भन्थे, “मुलै बाँचुञ्जेलसम्म देउवासित चुनाव लड्डे हो, उहाँलाई निर्विरोध जित्त दिन्या हैन।” अन्तिम पटक २०७४ को चुनावमा उनले २८० मत प्राप्त गरेका थिए। यसपटक पनि उनी उम्मेदवार बन्ने तयारीमा थिए, यद्यपि उनको स्वास्थ्य अवस्थाले साथ दिइरहेको थिएन।
उनको चुनावी नारो स्पष्ट हुन्थ्यो “मलाई एक छाक खाने मत दिनुहोस्, म जिल्लावासीलाई दुई छाक खाने बनाउँछु। म देउवाजस्तो बजेट खाने नेता बन्दिन।”
तर, ‘म एक मत आए पनि लड्छु’ भन्ने अडान लिने मम्याल बाजे शुक्रबार अस्ताए। उनीसँगै देउवालाई हराउने सपना पनि अधुरै रह्यो।