कैलालीको गोदावरी नगरपालिकामा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको उद्घाटन गरिएको छ। बिहीबार आयोजित एक कार्यक्रमकाबीच नेपाल सरकारका उप–प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाश मान सिंहले उक्त केन्द्रको समुद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रम शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा एसियाली विकास बैंक (ADB) का प्रतिनिधि, गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट, विभिन्न जनप्रतिनिधिहरू तथा मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
एसियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत भ्याटसहित रु ५१ करोड ६९ लाख ७४ हजार ४९९ को लागतमा चौकीडाँडा सामुदायिक वन क्षेत्रमा यो केन्द्र निर्माण गरिएको हो। चीनको सिचुवान प्रोभेन्स जियोलोजिक इन्जिनियरिङ कम्पनीले २०७९ सालको असोजमा ठेक्का सम्झौता गरी तोकिएको समयमै निर्माण कार्य सम्पन्न गरेको हो।
केन्द्रसम्म पुग्नका लागि साढे दुई किलोमिटर लामो पहुँच मार्ग समेत निर्माण गरिएको छ। निर्माण सम्पन्न भएपछिको पहिलो तीन वर्ष निर्माण कम्पनीले नै केन्द्र सञ्चालन गर्नेछ भने त्यसपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिनेछ। केन्द्र सञ्चालनमा आएपछि करिब ४० देखि ४५ जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ।
फोहोर व्यवस्थापन सुपरभाइजर प्रमल महराका अनुसार, गोदावरी नगरपालिकाबाट हाल दैनिक करिब साढे ६ टन फोहोर संकलन भइरहेको छ। नगरका १२ वटा वडामध्ये नौ वडाबाट मातृभूमि संरक्षण प्रालिले दैनिक तथा साप्ताहिक रूपमा फोहोर संकलन गर्दै आएको छ। हाल संकलित फोहोरलाई मालाखेती सामुदायिक वनभित्र, गोदावरी नदीले कटान गरेको क्षेत्रमा व्यवस्थापन गरिँदै आएको छ।
सुपरभाइजर महराका अनुसार, निर्माण सम्पन्न भएको केन्द्र असार महिनाबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। केन्द्रमा कुहिने फोहोर तथा दिसाजन्य वस्तुहरूबाट जैविक मल उत्पादन गरिनेछ। हालैका दिनहरूमा पनि संकलित फोहोरमैलाबाट केही मात्रामा आम्दानी हुने गरेको जनाइएको छ।