परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार विकास र आर्थिक समृद्धि हासिल गर्न क्रियाशील रहेको बताएकी छन् ।
आज धनगढीमा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनको उद्घाटन गर्दै विकास र लगानीका लागि शान्ति र स्थिरता जरुरी रहेको बताइन् ।
मन्त्री राणाले सुशासन, राजनैतिक स्थायित्व र समृद्धिका लागि वर्तमान सरकार गठन भएको र त्यसका लागि प्रमुख दुई दल काँग्रेस र एमाले प्रतिबद्ध रहेको प्रष्ट पारिन् ।
उनले सुदूरपश्चिम प्रदेशका विकासको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै लगानी सम्मेलनले जलविद्युत, पर्यटन लगायतका क्षेत्रका लगानीको वातावरण सृजना गर्ने विश्वास ब्यक्त गरिन ।
मन्त्री राणाले एकीकृत विकास प्रणालीको विकास गरि अघि बढ्नु पर्नेमा जोड दिँंदै सुदूरपश्चिमले विकासका क्षेत्रमा धेरै उपलब्धी हासिल गरेको बताइन् ।
सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विकासको प्रतिफल आउने गरि लगानी प्रवाह गरिनु पर्ने बताइन् । उनले आन्तरिक र बाह्य लगानी भित्र्याउन सम्मेलनले सहयोग पुर्याउने बिश्वास व्यक्त गरे।
यसैगरी वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले पर्यटन विकासलाई वन क्षेत्रसँग जोडेर लैजानु पर्ने बताए।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको विकास र समृद्धिका लागि आगामी असोजमा लगानी तथा विकास सम्मेलन आयोजना गर्न लागिएको र त्यसको तयारी शुरु भएको जानकारी दिए।
सुदूरपश्चिम प्रदेश सरकारद्वारा आयोजित तयारी सम्मेलनमा बिभिन्न देशका राजदुतहरुले पनि आ आफ्ना कुरा राखेका थिए। कार्यक्रममा प्रदेशका मन्त्री, प्रदेश सभा सदस्य, दातृ निकायका प्रतिनिधि, लगानी बोर्ड तथा नीति तथा योजना आयोगका पदाधिकारी, सरोकारवाला निकाय, विज्ञ लगायतको सहभागिता रहेको थियो ।