सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गरेका छन् ।
जस अनुसार सुदूरपश्चिम प्रदेशको लागी स्वास्थ्य, पूर्वाधार, ऊर्जा, उद्योग, खेलकुद र पर्यटन क्षेत्रमा बहुआयामिक योजना अघि सारेको छ। बजेटमा जनताको जीवनस्तर उकास्ने र भौतिक पूर्वाधार सुदृढ पार्ने उद्देश्यले विविध योजनाहरू समेटिएको छ।
स्वास्थ्य शिक्षाको पहुँच बढाउने उद्देश्यसहित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालनमा ल्याइने भएको छ। यसैगरी, कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गरी सुदूरपश्चिमलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्ने तयारी गरिएको छ।
यातायात पूर्वाधारको क्षेत्रमा खुटिया–दिपायल सडकको स्तरोन्नति, गड्डाचौकी–अत्तरिया खण्ड स्तरोन्नति, र मोहनापुल–अत्तरिया व्यापारिक मार्गको निर्माण सम्पन्न गरिने उल्लेख छ।
त्यसैगरी, अत्तरिया–खोड्पे–दार्चुला सडक खण्ड डेडिकेटेड डबल लेनमा स्तरोन्नतिका लागि विस्तृत अध्ययन सम्पन्न गरी निर्माण कार्य अघि बढाइने बजेटमा उल्लेख छ ।
प्रदेशभित्रको ऊर्जा प्रणाली सुदृढ बनाउने उद्देश्यले दोधारा–बरेली ४ सय के.भी. राष्ट्रिय तथा अन्तर्देशीय प्रशारण लाइनको निर्माण कार्य अघि बढाइने भनिएको छ ।
यस्तै, झापादेखि डडेल्धुराको रूपालसम्म मदन भण्डारी राजमार्ग निर्माण गरी पूर्व–पश्चिम सञ्जालमा वैकल्पिक राजमार्गको सम्भावना विस्तार गरिने भएको छ।
महाकाली करिडोर अन्तर्गत ब्रम्हदेव झुलाघाट–तुसारपानी खण्डको स्तरोन्नति र तुसारपानी–टिकंर खण्डको ट्र्याक खोल्ने कार्य पनि बजेटमा समावेश छ।
औद्योगिक विकासतर्फ प्रदेश सरकारले दैजी, कञ्चनपुरमा आधुनिक औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको छ।
खेलकुदको पूर्वाधार विस्तार गर्दै कैलालीको फाप्ला क्रिकेट मैदान निर्माण गरिने बजेटमा उल्लेख छ ।
पर्यटन प्रवर्द्धनका लागि शुक्लाफाँटा–खप्तड पदयात्रा सञ्चालन गरिनेछ भने खप्तड, रामारोशन, बडिमालिका, बुढीनन्दा, रारा, स्वर्गद्वारी र मुक्तिनाथ जोड्ने पर्यटकीय पदमार्गहरूको विकास गरिने भएको छ।
यी अधिकांश योजना एमाले सचिब लेखराज भट्टले तत्कालीन माओवादी मै हुँदा देखि उठान गरेका योजनाहरु रहेको उनको सचिबालयले जनाएको छ ।