कञ्चनपुरस्थित डिभिजन वन कार्यालयमा कार्यरत डिभिजन वन अधिकृत राम बिचारी ठाकुरमाथि कार्यस्थलमै कालोमोसो दल्दै अमानवीय र आपराधिक दुर्व्यवहार भएको भन्दै बन क्षेत्र सम्बद्ध संघ संस्थाहरुले बिरोध जनाएका छन् ।
बिहीबार दिउँसो करिब १२:०० बजे कार्यालयमा काम गरिरहेको अबस्थामा केही अज्ञात व्यक्तिहरूले ठाकुरमाथि योजनाबद्ध रूपमा आक्रमण गरेका हुन्।
घटनालाई राज्य सेवामा कार्यरत कर्मचारीहरूमाथिको खुला हमला भन्दै नेपाल फरेष्ट्रि टेक्निसियन एसोसिएसन र नेपाल वन प्राविधिक संघले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “कर्तव्य पालनाको क्रममा भएको यस्तो गैरकानुनी, आपराधिक र अमर्यादित कार्य कुनै हालतमा स्वीकार्य छैन। यसले न केवल पीडित व्यक्तिको सम्मानमाथि धक्का पुर्याएको छ, समग्र वन प्रशासनप्रति नै चुनौती खडा गरेको छ।”
दुवै संस्थाले घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाही गरिनुपर्ने माग गरेका छन्। त्यस्तो नगरे कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ।
विज्ञप्तिमा संघसंस्था, ट्रेड युनियन तथा पेशागत संगठनहरूलाई एकजुट भई घटनाको विरोधमा उभिन आह्वान गरिएको छ।
विज्ञप्तिमा नेपाल फरेष्ट्रि टेक्निसियन एसोसिएसनका केन्द्रीय उपाध्यक्ष पूर्ण शंकर यादव, नेपाल वन प्राविधिक संघका प्रदेश अध्यक्ष राम औतार चौधरी र नेपाल फरेष्ट्रि टेक्निसियन एसोसिएसनका प्रदेश अध्यक्ष भरतराज गिरीको हस्ताक्षर रहेको छ।