सुदूरपश्चिमको गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शीघ्र सञ्चालन र आवश्यक बजेट सुनिश्चित गर्न माग गर्दै आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ।
स्थानिय संघर्ष समितीले धनगढीस्थित जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाइ सो ज्ञापनपत्र पेस गरेका हुन्।
ज्ञापनपत्रमा जेष्ठ ४ गते प्रतिनिधि सभाबाट सर्वसम्मत पारित विधेयकअनुसार गठन भएको संस्थाले अझै पूर्ण रूपमा सञ्चालनको गति नपाएकोमा चिन्ता व्यक्त गरिएको छ।
साथै, शैक्षिक तथा स्वास्थ्य सेवा विस्तारसँगै रोजगारी, आर्थिक–सामाजिक विकास र सुदूरपश्चिमको समग्र उन्नतिमा यसको महत्त्वपूर्ण योगदान रहने स्पष्ट पारिएको छ।
ज्ञापनपत्रमा भनिएको छ, “आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट संघीय संसदमा प्रस्तुत हुँदैछ। सो अवसरमा विश्वविद्यालय र शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरी, ऐनमा व्यवस्था भएअनुसार पदाधिकारीहरूको नियुक्ति र एम.बी.बी.एस. सिट निर्धारण प्रक्रिया तुरुन्त अघि बढाउन आग्रह गर्दछौं।”
यस्तै आज नै संघर्ष समितिले प्रदेसका मुख्यमन्त्री कमल बहादुर शाहलाई समेत ज्ञापन पत्र बुझाएको छ ।
साथै, विश्वविद्यालय स्थापनामा योगदान पुर्याउने पूर्वप्रधानमन्त्री, सांसद, मन्त्री, राजनीतिक दलका नेता, पत्रकार तथा नागरिक अभियन्ताप्रति समेत समितिले विशेष धन्यवाद व्यक्त गरेको छ ।