गोदावरी नगरपालिका–७ मा मंगलबार नवौं वडा भेला सम्पन्न भएको छ। वडा कार्यालय परिसरमा आयोजित भेलामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८६ लाख १० हजार ७८० रुपैयाँको बजेट सार्वजनिक गरिएको हो।
वडा अध्यक्ष कलावती साउदले भेला मार्फत बजेट सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा वडा कार्यालयले १० लाख ९५ हजार १८० रुपैयाँ राजस्व संकलन गरिसकेको जानकारी दिइन्।
सार्वजनिक बजेटअनुसार भौतिक पूर्वाधार निर्माणमा ५४ लाख १० हजार रुपैयाँ, सामाजिक तथा आर्थिक विकासमा १०–१० लाख रुपैयाँ, सुशासन तथा संस्थागत विकासमा १० लाख रुपैयाँ र विपद् व्यवस्थापनमा २ लाख रुपैयाँ विनियोजन गरिएको छ। ठूला पूर्वाधार योजनाहरूका लागि तीनै तहका सरकारसँग समन्वय गरिने समेत वडाले जनाएको छ।
वडाको नीति तथा कार्यक्रमहरू कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, जलवायु, ऊर्जा, सरसफाइ, महिला तथा बालकल्याण लगायतका क्षेत्रहरूमा केन्द्रित रहने जनाइएको छ। विशेषगरी बेरोजगार युवाहरू लक्षित कार्यक्रमलाई वडाले उच्च प्राथमिकतामा राखेको जनाएको छ।
वडा भेलामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संस्था, बुद्धिजीवी, महिला, युवा र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सार्वजनिक बजेट र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।