कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नब जीवन सहकारी संस्थाले 'सहकारीका मर्म र चुनौती' बिषयक एक दिने बिचार गोष्ठी आयोजना गरेको छ ।
शनिबार काठमाडौमा अध्यक्ष देब बहादुर बमको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एबम उक्त संस्थाका संस्थापक दिपक प्रसाद देबकोटा रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी संस्थाहरु आम जनताको सुख दुःखको साथी बनेको दाबी गरेका छन् । संविधानले सरकारी, सहकारी र नीजि क्षेत्रलाई अर्थतन्त्रको तीन खम्बाको रुपमा उल्लेख गरेर सहकारी क्षेत्रको बिस्तार र प्रर्वद्धनमा जोड दिएको उनले बताए । सुर्केथैली, बाकस अनि पटुकीमा पोको पारेका निम्न आय समूहका पैसा जनताको बैङ्कका रुपमा सहकारीले सहकार्यमा परिचालन गरेको दाबी उनले गरे।
‘२०४८ सालको कुरा हो, सडक दुर्घटनाको आलो घाउले रन्थनिएको एउटा बेसहारा बनेको बालकलाई हामी केही साथीहरु मिलेर अस्पताल र उपचारको पहलमा जुट्यौं, ’नवजीनको इतिहास स्मरण गर्दै प्रदेश प्रमुख देवकोटाले सुनाउदै भने , ‘यो हाम्रा सहकार्यले बालक निको भए, उनका बाबु भेटिए अनि आँखाभरी आँसु झार्दै ती बाबुले आफ्नो छोरालाई नयाँ जीवन दिएकोमा धन्यवाद दिए । एकताले सकारात्मक परिणाम ल्याउन सकिन्छ भन्ने कुरामा हामीलाई थप हौसला प्राप्त भयो र हामी एउटा यस्तै संस्थाको परिकल्पनामा पुग्यौं । नयाँ जीवन प्राप्त गरेको त्यो बालकको समग्र घटनालाई प्रेरणाको रुपमा लिदै संस्थाको नाम नवजीवन राख्न पुग्यौं ।’
नवजीवन सहकारी संस्थाले सुदूर पश्चिम र लुम्बिनीका लाखौं जनतामा आर्थिक क्रियाशीलता अभिवृद्धि गरी जीवनस्तर उकास्न सफल भएको उनले बताए । उनले भने , ‘नवजीवन परिवर्तनको संवाहक हो र रहिरहनुपर्दछ । सहकारीको मूल्य, मान्यता र शिद्धान्तलाई सर्वोपरि राखेर अघि बढेको हुनाले नै इतिहासका कुनै कालखण्डले नवजीवनलाई बिचलित पारेको छैन ।’
सहकारीले वित्तीय साक्षरतामा अझै जोड दिएर आम समुदायलाई योसँग जोड्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशब बडाल लगाएतले सम्बोधन गरेका थिए।