सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकता हुने भएको छ।अध्यक्ष राउतले एकताको घोषणा गर्दै अब दुई पार्टी मजबुत भएर अगाडि जाने बताए।
‘जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढने नै छौँ,एकता हुन्छ नै,’ उलने भनेका छन्, ‘यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्तिबीच घोषणाको तयारी गर्दैछौँ।'यसअघि वैशाख १५ गतेभित्र एकता गर्नेगरी तयारी गरेको थियो। तर, विभिन्न अडचन आएको राउतले बताएका छन्।
आफूहरुबीचको एकताले धेरै शक्ति र पार्टीहरुको निद्रा उडेको भन्दै राउतले यसबाट नेपालकै राजनीतिमा दुरगामी प्रभाव पर्ने जिकिर गरेका छन्। ‘धेरै पार्टी/शक्तिहरूको अहिले निद्रा उडेको छ,’ उनको भनाइ छ, ‘किनकि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ। नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ।’
दुवैपार्टी बीच एकताको लागि कार्यदल गठन गरिएको थियो। कार्यदलले दुई पार्टीबीच एकतापछि हुने पार्टीको नाम, नेतृत्व, चुनाव चिह्न लगायतका विषय टुंग्याएको छ।
कार्यदलका अनुसार एकतापछि नयाँ पार्टीको नाम नागरिक जनमत हुनेछ भने ढकिया चुनाव चिह्न रहनेछ। पार्टीको संरक्षक रेशम चौधरी रहँदा कार्यकारी अध्यक्ष सिके राउत रहनेछन्। नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ सहअध्यक्ष रहने छिन्।
प्रतिनिधि सभामा जनमत पार्टीका ६ सांसद छन्। यस्तै, नाउपाका ४ जना छन्। एकतापछि नयाँ पार्टी प्रतिनिधिसभामा १० सिटको पार्टी हुनेछ।