सुदूरपश्चिम प्रदेश सरकार लगानी सम्मेलनको तयारीमा जुटेको छ ।
०८२ असोजमा लगानी सम्मेलन गर्ने तयारी थालेको प्रदेश सरकारले ०८१ चैतमा प्रि–समिट गर्ने भएको हो । २७ गते प्रि-समिट गर्न तयारी थालिएको बताइएको छ ।
सोही तयारीका विषयमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता, मन्त्रालयका सचिव तथा मन्त्रालयका कर्मचारीसँग छलफल गरेका छन् ।
मुख्यमन्त्री शाहको सचिवालयले दिएको जानकारीअनुसार लगानी सम्मेलन र २२-२३ फागुनमा हुने प्रदेशसभा सदस्यहरूको अन्तर्क्रिया कार्यक्रमका विषयमा छलफल गरिएको छ ।
यस्तै, मंगलबार सत्ता गठबन्धनको पनि बैठक बसेको छ । मुख्यमन्त्री शाहले आह्वान गरेको बैठकमा सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक २०८१ का विषयमा छलफल भएको छ । विधेयकमा केही हेरफेर गर्ने सहमति भएको पनि बताइएको छ ।
विधेयकमा स्थानीय तहमा अस्थायी वा करारको रूपमा कार्यरत कर्मचारीलाई मात्रै फाइदा पुग्ने गरी आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा प्रदेश लोक सेवा आयोगले पदपूर्ति गर्ने उल्लेख भएकाले त्यो व्यवस्थालाई संशोधन गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको बताइएको छ ।
बैठकमा मुख्यमन्त्री शाहसँगै विधायन तथा प्रदेश मामिला समिति सभापति दिवानसिंह विष्ट, प्रदेश लोक सेवा आयोगका अध्यक्ष यज्ञराज बोहरासहित सत्ता गठबन्धनका नेता तथा प्रमुख सचेतकहरू सहभागी थिए ।